मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
पर्यटन

वैशाख १६–१७ मा लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, ६० देशका विद्वान सहभागी हुने

स
समाचार कक्ष
२०२६ फेब्रुअरी ५
4
0
वैशाख १६–१७ मा लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, ६० देशका विद्वान सहभागी हुने
सारांश
२२ माघ, बुटवल - बुद्ध जन्मस्थल लुम्बिनीमा आगामी वैशाख १६ र १७ गते तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने भएको छ। लुम्बिनीको पर्यटन प्रवर्द्ध...

२२ माघ, बुटवल - बुद्ध जन्मस्थल लुम्बिनीमा आगामी वैशाख १६ र १७ गते तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने भएको छ। लुम्बिनीको पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसारलाई थप सशक्त बनाउने उद्देश्यसहित सम्मेलन गर्न लागिएको हो।

बिहीबार बसेको लुम्बिनी विकास कोषको परिषद् बैठकले सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं लुम्बिनी विकास कोषका अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा सम्पन्न बैठकले सम्मेलनका लागि मूल आयोजक समारोह समिति गठन गरेको छ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाको संयोजकत्वमा १० सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। सरकारले चालु आर्थिक वर्षमा सम्मेलन आयोजनाका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको कोषले जनाएको छ।

यसअघि गत नोभेम्बरमा आयोजना गर्ने योजना रहे पनि देशमा भएका राजनीतिक तथा संरचनात्मक परिवर्तनका कारण सम्मेलन स्थगित गरिएको थियो। अब २५७०औँ बुद्ध जयन्तीको अवसर पारेर वैशाख १६ र १७ गते लुम्बिनीमै सम्मेलन आयोजना गरिने तयारी गरिएको छ।

बुद्ध धर्म र दर्शनमार्फत विश्व शान्ति प्रवर्द्धन गर्दै दया, करुणा र विश्व बन्धुत्वको सन्देश फैलाउने उद्देश्यका साथ सम्मेलन आयोजना गर्न लागिएको मूल समारोह समितिका संयोजक डा. लामाले जानकारी दिए।

दुई दिने सम्मेलनमा विश्वका ६० भन्दा बढी देशका बौद्ध विद्वान, धर्मगुरु, विशिष्ट पाहुना तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। सम्मेलनमा बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु र बुद्धसँग सम्बन्धित क्षेत्रहरूको सम्पदा, लुम्बिनी क्षेत्रको पर्यावरणीय अवस्था, विश्व बौद्ध सम्पदा, बौद्ध शिक्षा र संस्कृतिसम्बन्धी विषयमा छलफल तथा कार्यपत्र प्रस्तुत गरिने जनाइएको छ।

यसअघि आयोजना गरिएका पहिलो र दोस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले नेपालको धार्मिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएको लुम्बिनी विकास कोषले जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार