पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा विमानस्थलको आधा भाग उज्यालो र आधा भाग अँध्यारो देखिएजस्तै यसको भविष्य पनि अन्योलमा परेको थियो। २०२३ जनवरी १ मा उद्घाटन भएको विमानस्थलमा केही चार्टर उडान भए पनि नियमित अन्तर्राष्ट्रिय सेवा सञ्चालन हुन सकेको थिएन।
अब भने यूएईको फ्लाई दुबईले असोज ७ गते अर्थात् सेप्टेम्बर २३ देखि पोखरा–दुबई नियमित उडान सुरु गर्ने भएपछि पोखरेली व्यवसायी तथा पर्यटन क्षेत्र उत्साहित देखिएका छन्। फ्लाई दुबईले कम्तीमा ६ महिनाका लागि दैनिक उडानको टिकट बुकिङ खुला गरेको छ र पोखरामा कार्यालय स्थापना गरी प्रवर्द्धनसमेत गरिरहेको छ।
पहिलो उडान सेप्टेम्बर २३ साँझ ६ः१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने र एक घण्टापछि दुबई फर्किने तालिका रहेको विमानस्थल प्रमुख जगन्नाथ निरौलाले बताएका छन्। १ सय ६६ सिट क्षमताको जहाजका सुरुआती केही उडानका टिकट पूर्ण भइसकेको जानकारीसमेत व्यवसायीहरूले दिएका छन्।
फ्लाई दुबई र इमिरेट्सको नेटवर्कमार्फत पोखराबाट दुबई हुँदै विश्वका करिब २५० गन्तव्यसँग जोडिन सक्ने अपेक्षा गरिएको छ। काठमाडौंको तुलनामा पोखराबाट कम्तीमा ५ हजार रुपैयाँ कम भाडा राखिएको फ्लाई दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले बताएका छन्।
यसअघि पोखराबाट सिचुआन एयरलाइन्स, हिमालयन एयरलाइन्स, भुटान एयरलाइन्स र ड्रुक एयरलगायतले चार्टर उडान गरेका थिए। हिमालयन एयरलाइन्सले पोखरा–ल्हासा रुटमा १०४ वटा मुभमेन्ट गरे पनि यात्रुको अभावमा उडान स्थगित भएको थियो। सिचुआन एयरलाइन्सले पनि छेन्दु–पोखरा रुटमा २६ चार्टर उडान गरेको थियो।
विमानस्थल सञ्चालनका लागि नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङको तयारी पूरा गरेको छ। फ्लाइट क्याटरिङका लागि सोल्टी होटललाई अनुमति दिइएको छ भने नागरिक उड्डयन प्राधिकरण, नेपाल प्रहरी, नेपाली सेना, भन्सार र अध्यागमनतर्फ आवश्यक जनशक्ति व्यवस्थापन गरिएको विमानस्थलले जनाएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले फ्लाई दुबईको उडानलाई पोखराको अन्तर्राष्ट्रिय कनेक्टिभिटी विस्तार गर्ने एउटा सुरुआतका रूपमा हेरेका छन्। उनका अनुसार दुबईबाट भारत, चीनलगायत अन्य देशका शहरसँग जोडिने सम्भावना पनि खुल्न सक्छ।
तर व्यवसायीहरूले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएका केही अन्तर्राष्ट्रिय उडान नियमित हुन नसकेको अनुभवबाट पोखराले पाठ सिक्नुपर्ने बताएका छन्। फ्लाई दुबईलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न यात्रु संख्या, सेवा सुविधा, पर्यटन प्रवर्द्धन र व्यावसायिक वातावरणमा निरन्तर ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ।
पोखराका होटल, ट्राभल, रेस्टुरेन्ट तथा पर्यटन व्यवसायीहरूले पनि फ्लाई दुबईको उडानलाई लक्षित गरी विभिन्न प्याकेज र प्रवर्द्धनात्मक कार्यक्रमको तयारी गरेका छन्। पोखरामा करिब १,२०० होटल र १५ हजारभन्दा बढी रोजगारी पर्यटन व्यवसायसँग जोडिएको होटल संघ पोखराले जनाएको छ।
पोखरा पर्यटन परिषद् र ट्राभल व्यवसायीहरूले उडानलाई नियमित र दीर्घकालीन बनाउन सहकार्य आवश्यक रहेको बताएका छन्। फ्लाई दुबईको सेवा सफल भएमा भारत, चीनलगायत अन्य अन्तर्राष्ट्रिय गन्तव्यसँग पोखरा जोडिने सम्भावना बढ्ने उनीहरूको अपेक्षा छ।




