अमेरिकाको भर्जिनियामा ममता काफ्ले भट्ट बेपत्ता भएको घटनामा उनका श्रीमान् नरेश भट्टविरुद्ध चलिरहेको मुद्दाको सुनुवाइका क्रममा बिहीबार सात जना साक्षीले बयान दिएका छन्। ममताको हत्या र शव लुकाएको आरोप सामना गरिरहेका नरेशले भनेको आरोप अदालतमा पुष्टि हुन बाँकी छ। ममताको शव अहिलेसम्म फेला परेको छैन।
प्रिन्स विलियम काउन्टी अदालतमा भएको सुनुवाइमा ममताकी आमा गीता काफ्ले, घनिष्ठ साथी सरिता न्यौपाने, सहकर्मी र अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूले बयान दिएका हुन्।
अदालतमा बयान दिँदै गीता काफ्लेले सन् २०२४ जुलाई ३० यता छोरीसँग कुनै सम्पर्क नभएको बताइन्। छोरी आफूलाई नभनी कतै नजाने स्वभावकी रहेको उल्लेख गर्दै उनले ममताको खोजीका लागि अमेरिका आएको बताइन्।
ममताकी साथी सरिता न्यौपानेले दम्पतीबीचको सम्बन्धमा समस्या रहेको र ममताले नरेशमाथि परस्त्रीगमन तथा शारीरिक हिंसाको आरोप लगाएको अदालतलाई बताइन्। उनका अनुसार सन् २०२४ फेब्रुअरीमा दम्पतीबीच विवाद भएपछि ममता १९ दिनसम्म उनको घरमा बसेकी थिइन्। न्यौपानेले ममताले अनुहारमा चोट लागेको भिडियो देखाएको पनि बयान दिइन्। उनले घटना प्रत्यक्ष नदेखेको कुरा पनि स्पष्ट पारिन्।
अनुसन्धान अधिकारी डिटेक्टिभ क्लाउडिया भेन्टुराले ममता बेपत्ता भएको घटनालाई अनैच्छिक बेपत्ताका रूपमा वर्गीकरण गरेर फोन र सामाजिक सञ्जालसम्बन्धी अभिलेखको अनुसन्धान अघि बढाइएको बताइन्। अदालतमा प्रहरीका बडीक्याम भिडियो पनि प्रस्तुत गरिएको थियो।
प्रहरी सार्जन्ट ब्रेडी पेलाथका अनुसार नरेशले अगस्ट ५, २०२४ मा पत्नी बेपत्ता भएको उजुरी दिएका थिए। सुरुमा उनी केही समयका लागि बाहिर गएको हुन सक्ने अनुमान गरिए पनि पछि अस्पताल, जेल र अन्य निकायमा खोजी गरिएको थियो।
मुद्दाको सुनुवाइ आगामी मंगलबार बिहान ९ बजेदेखि पुनः सुरु हुने जनाइएको छ। त्यसक्रममा प्रहरी बडीक्याम भिडियोको बाँकी भाग अदालतमा प्रस्तुत गरिनेछ। नरेशविरुद्धका आरोपबारे अन्तिम निर्णय अदालतको प्रक्रियाबाट हुन बाँकी छ।






