Thursday, January 15, 2026

विश्वकै ठूला विद्युतीय गाडी विक्रेता बन्यो बीवाईडी, टेस्लालाई पहिलो पटक उछिन्यो


काठमाडौँ । विश्व बजारमा विद्युतीय गाडी बिक्रीमा चिनियाँ कम्पनी ‘बीवाईडी’ ले अमेरिकी कम्पनी ‘टेस्ला’ लाई उछिनेर पहिलो स्थान हासिल गरेको छ । वार्षिक बिक्रीका आधारमा बीवाईडीले पहिलो पटक इलन मस्कको टेस्लालाई पछि पारेको बीबीसीले जनाएको छ ।

बीवाईडीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२५ मा कम्पनीले कुल ४६ लाख युनिट विद्युतीय सवारी साधन बिक्री गरेको छ, जुन सन् २०२४ को तुलनामा ७.७ प्रतिशतले बढी हो । यसमा न्यु इनर्जी भेहिकल, प्यासेन्जर भेहिकल, प्लग–इन हाइब्रिड इलेक्ट्रिक तथा ब्याट्रीबाट चल्ने विद्युतीय सवारी सबै समावेश छन् ।

बीवाईडीले ब्याट्रीबाट मात्र चल्ने विद्युतीय कार २२ लाख ५० हजारभन्दा बढी युनिट बिक्री गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २७.८६ प्रतिशतले वृद्धि हो । टेस्लाले भने शुक्रबार आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यद्यपि गत साताको विश्लेषणअनुसार टेस्लाले यस वर्ष करिब १६ लाख ५० हजार ब्याट्री–पावर्ड सवारी साधन बिक्री गरेको अनुमान गरिएको छ ।

बीबीसीका बिजनेस रिपोर्टर ओस्मन्ड सियाका अनुसार टेस्लाका नयाँ उत्पादनप्रति उपभोक्ताको मिश्रित प्रतिक्रिया, इलन मस्कको राजनीतिक सक्रियताप्रतिको असहजता तथा चिनियाँ कम्पनीहरूको तीव्र प्रतिस्पर्धाका कारण यो वर्ष टेस्लाका लागि चुनौतीपूर्ण रह्यो । बिक्री बढाउने प्रयासस्वरूप टेस्लाले गत अक्टोबरमा आफ्ना दुई लोकप्रिय मोडलका सस्तो संस्करण सार्वजनिक गरे पनि नयाँ र किफायती विकल्प ल्याउन ढिलाइ गरेको भन्दै कम्पनी आलोचित भएको थियो ।

टेस्लाको बजार विस्तारका लागि सेयरधनीहरूले गत नोभेम्बरमा सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत इलन मस्कलाई एक ट्रिलियन डलर बराबरको पे प्याकेज दिने निर्णयसमेत गरेका थिए । उक्त प्याकेज प्राप्त गर्न मस्कले टेस्लाको बजार मूल्य दुई ट्रिलियन डलर र वार्षिक बिक्री दुई करोड युनिट पुर्‍याउनुपर्ने सर्त राखिएको छ ।

यसका साथै आगामी एक दशकभित्र लाखौँ ह्युमनोइड रोबोट बिक्री गर्नुपर्ने लक्ष्य पनि तय गरिएको छ । टेस्लाले ‘अप्टिमस’ नामक ह्युमनोइड रोबोट र ‘रोबोट्याक्सी’ परियोजनामा उल्लेख्य लगानी गरिरहेको बीबीसीले जनाएको छ ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like

  • by समाचार कक्ष
  • Jul 16, 2025
बैंकहरूले घटाए ब्याजदर