- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ । सर्वोच्च अदालतमा आगजनीका कारण जलेका मुद्दामध्ये १० हजारभन्दा बढी मुद्दाका मिसिल पुनः तयार पारिएको छ ।
सर्वोच्च अदालतमा दर्ता भएका कुल २४ हजार मुद्दामध्ये गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा करिब २० हजार मुद्दाका मिसिल आगलागीमा परेर जलेका थिए । उक्त घटनामा करिब चार हजार मिसिल मात्र सुरक्षित रहेका थिए ।
सर्वोच्च अदालतका प्रवक्ता निराजन पाण्डेका अनुसार यही पुस २१ गतेसम्म सेवाग्राही संस्था र महान्यायाधिवक्ताको कार्यालयबाट प्राप्त कागजातका आधारमा हालसम्म १० हजार ३४० मुद्दाका मिसिल पुनः तयार पारिएको छ ।
आगलागीमा जलेका मुद्दाका मिसिल पुनः संकलन र पुनर्निर्माणका लागि सर्वोच्च अदालतले महान्यायाधिवक्ता कार्यालय, नेपाल बार एसोसिएसन तथा सम्बन्धित मुद्दाका पक्षहरूसँग सहयोग मागेको थियो । सोहीअनुसार आवश्यक कागजात संकलन गर्ने काम निरन्तर भइरहेको अदालतले जनाएको छ ।