Wednesday, August 26, 2026

बाढीपछि त्रिशूली बजारको अवस्था भयावह, जनजीवन प्रभावित


रसुवाबाट आएको भीषण बाढीका कारण नुवाकोटको त्रिशूली बजार र आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको छ। बुधबार आएको बाढी त्रिशूली नदी हुँदै तलतर्फ बढेपछि बजार तथा नदी किनारका बस्ती प्रभावित भएका हुन्। 

प्रारम्भिक विवरणअनुसार त्रिशूली बजार आसपासका करिब ६० घर बाढीले बगाएको छ। बजार क्षेत्रका केही घर, सडक तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको बताइएको छ। देवीघाट क्षेत्र पनि बाढीबाट प्रभावित भएको छ। 

बाढीको पूर्वसूचना पाएपछि त्रिशूली नदी आसपासका धेरै स्थानीय सुरक्षित स्थानतर्फ सरेका थिए। त्यसकारण हालसम्म मानवीय क्षतिको आधिकारिक पुष्टि नभएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताएका छन्। भने क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको छ।

बाढीले त्रिशूली नदीमा रहेका दुईवटा पक्की पुलसमेत बगाएको छ। त्यस्तै, त्रिशूली र देवीघाट जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने २५ मेगावाट क्षमताको सौर्य प्लान्टका तीनवटा ब्लक र सबस्टेसनमा पनि क्षति भएको विवरण आएको छ। 

यसैबीच त्रिशूली नदीको जलसतह खतराको तहभन्दा माथि पुगेपछि नदी आसपासका बस्ती तथा बजार क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढी अझै तलतर्फ बढिरहेको भन्दै जोखिम क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान प्रशासनले अनुरोध गरेको छ। 


Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like