- by समाचार कक्ष
- Mar 06, 2025
२२ पुस, जनकपुरधाम । वीरगञ्जमा जारी कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म थप गरिएको छ । धार्मिक तथा सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले सोमबार साँझदेखि कर्फ्यू आदेश जारी गरेको हो ।
सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म लागू गरिएको कर्फ्यू पहिले दिउँसो १ बजेसम्मका लागि लम्ब्याइएको थियो । त्यसपछि अवस्था अझै सामान्य नहुँदा कर्फ्यू अवधि पुनः थप गरी साँझ ६ बजेसम्म पुर्याइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार वीरगञ्ज महानगरपालिका क्षेत्रअन्तर्गत पूर्वमा बसपार्क, नगवा र इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै पनि प्रकारको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ ।
प्रशासनले कर्फ्यू अवधिमा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन आग्रह गरेको छ । निस्कनै परे नजिकको सुरक्षाकर्मीसँग समन्वय गर्न वा १०० नम्बरमा फोन गरेर अनुमति लिएर मात्र बाहिर निस्कन अनुरोध गरिएको छ ।
कर्फ्यू अवधिभर अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधन तथा हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवागमनलाई सुरक्षाकर्मीहरूले सहजीकरण गर्ने प्रशासनले जनाएको छ ।
धार्मिक तथा सामाजिक विषयलाई लिएर दुई समुदायले आइतबारदेखि वीरगञ्जमा निरन्तर प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनका कारण शहरको अवस्था तनावग्रस्त बन्दै गएको छ ।