- by समाचार कक्ष
- Jul 11, 2025
पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहान ८ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्मका लागि कर्फ्यु आदेश थप गरेको छ ।
प्रशासनले यसअघि सोमबार बेलुका ६ः०० बजेदेखि मङ्गलबार बिहानसम्म कर्फ्यु आदेश जारी गरेको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार विवाद समाधानका लागि प्रयास जारी रहेकाले सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै कर्फ्यु अवधि थप गरिएको हो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र चार किल्ला तोकी कर्फ्यु लागू गरिएको छ । कर्फ्यु क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने प्रशासनले जनाएको छ ।
कर्फ्यु क्षेत्रको सीमाना पूर्वमा बसपार्क, पश्चिममा सिर्सियापुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शङ्कराचार्य गेट तोकिएको छ । सो क्षेत्रमा कुनै पनि प्रकारका सभा, सम्मेलन, जुलुस तथा धर्ना निषेध गरिएको छ ।
प्रजिअ दाहालले कर्फ्यु अवधिमा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन आग्रह गर्दै निस्कनै परे नजिकको सुरक्षाकर्मीसँग समन्वय गर्न अनुरोध गर्नुभएको छ । कर्फ्युका बेला सुरक्षाकर्मीले कडा कारबाही गर्न सक्ने चेतावनी दिँदै प्रशासनले अत्यावश्यक सेवाका सवारीसाधन भने सञ्चालन गर्न दिइने स्पष्ट पारेको छ ।