- by समाचार कक्ष
- Mar 06, 2025
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको उक्त भेटमा दुई देशबीच शिक्षा, विज्ञान, प्रविधि तथा खेलकुद क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको हो।
मन्त्री पोखरेलको सचिवालयका अनुसार भेटमा विशेषगरी विद्यालय पूर्वाधार विकास, शिक्षण प्रक्रियामा डिजिटल प्रणालीको विस्तार तथा संस्थागत सुधारका विषयमा विचार आदानप्रदान गरिएको थियो। साथै नेपाल–चीनबीचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने विषयमा पनि कुराकानी भएको बताइएको छ।
भेटका क्रममा मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा सञ्चालन भइरहेका परियोजनाहरू छिटो सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याउँदै चिनियाँ छात्रवृत्ति कार्यक्रमलाई नेपाली विद्यार्थीको आवश्यकताअनुसार थप प्रभावकारी बनाउन आग्रह गरेका थिए।
जवाफमा चिनियाँ राजदूत चाङ माओमिङले नेपालसँग विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्न चीन सरकार इच्छुक रहेको बताएका छन्।
दुवै पक्षबीच आपसी हितका विषयमा सहकार्यलाई थप सुदृढ गर्दै द्विपक्षीय सम्बन्धलाई बहुआयामिक रूपमा अघि बढाउने सहमति भएको छ।