- by समाचार कक्ष
- Mar 06, 2025
श्रम संस्कृति पार्टीले देशभरका सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूलाई संगठित गर्ने अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। पार्टी अध्यक्ष हर्क साम्पाङले पार्टी संरचनालाई देशव्यापी रूपमा अभियान विस्तार गर्न निर्देशन दिएका छन्।
सरकारले विभिन्न स्थानमा सुकुमबासी बस्ती हटाउने अभियान चलाइरहेका बेला साम्पाङ नेतृत्वको पार्टीले त्यसको विपक्षमा उभिँदै संगठन विस्तारको तयारी गरेको हो। उनले जिल्ला तथा पालिका समितिहरूलाई तत्काल अभियान अघि बढाउन आग्रह गरेका छन्।
साम्पाङले देशका गरिब तथा सुकुमबासी समुदायको अधिकार सुनिश्चित गर्न एकीकृत रूपमा संगठित हुनुपर्ने आवश्यकता रहेको बताएका छन्। उनका अनुसार सुकुमबासी तथा अव्यवस्थित बसोबासी एकता अभियानको संयोजन श्रम संस्कृति पार्टीले गर्नेछ।
उनले सामाजिक सञ्जालमार्फत सुकुमबासी समुदायलाई संगठित भएर बस्न आग्रह गर्दै उनीहरूको पक्षमा उभिन पार्टी कार्यकर्ताहरूलाई आह्वान गरेका छन्।