- by समाचार कक्ष
- Mar 06, 2025
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) नियुक्ति सम्बन्धी विवाद अन्ततः टुंगिएको छ। सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर्दै ११औँ तहका स्थायी चिकित्सक डा. विष्णु गौतमलाई मेसुमा नियुक्त गरिएको हो।
यसअघि लुम्बिनी प्रदेश सरकारले ११औँ तहका डा. गौतमलाई पन्छाउँदै १०औँ तहका वरिष्ठ अर्थोपेडिक चिकित्सक डा. इन्द्र ढकाललाई मेसु नियुक्त गरेको थियो। आफूलाई अन्यायपूर्वक उपेक्षा गरिएको भन्दै डा. गौतमले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशहरू हरि प्रसाद फुयाल र अब्दुल अजीज मुसलमानको इजलासले नेपाल स्वास्थ्य सेवा अन्तर्गत ११औँ तहका चिकित्सकलाई प्राथमिकता दिनुपर्ने भन्दै निर्देशनात्मक आदेश जारी गरेको थियो।
सोही आदेश कार्यान्वयन गर्दै प्रदेश सरकारले डा. गौतमलाई मेसुको जिम्मेवारी दिएको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारुले जानकारी दिएका छन्। लामो समयदेखि कानुनी संघर्ष गर्दै आएका डा. गौतमले ढिलै भए पनि अदालतको आदेश कार्यान्वयन हुँदा न्याय पाएको प्रतिक्रिया दिएका छन्।