Thursday, April 30, 2026

पुराना दलकै कमजोरीले लोकप्रियतावाद उकालोमा, आत्मसमीक्षा नगरे जनमत फर्किँदैन : वर्षमान पुन


काठमाडौं । नेकपा नेता वर्षमान पुन ‘अनन्त’ले स्थापित राजनीतिक दलहरूको कमजोरीका कारण नेपालमा लोकप्रियतावादी शक्तिहरूको उदय भएको बताएका छन्। १७३औँ विश्व मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले लामो समयसम्म सत्तामा रहेका दलहरूले आफ्ना कमजोरी स्वीकार्नैपर्ने धारणा व्यक्त गरे।

उनका अनुसार नेपाली कांग्रेस र एमालेले करिब ३६ वर्ष तथा आफूहरू सहभागी दलहरूले १८ वर्ष शासन सञ्चालन गर्दा देखिएका कमजोरीकै पृष्ठभूमिमा नयाँ शक्तिहरू, विशेषगरी रास्वपा, उदाएको हो। यस्तो यथार्थ स्वीकार गर्न हिच्किचाउन नहुने उनले स्पष्ट पारे।

पुनले जनतामा बढ्दो असन्तुष्टिको कारणबारे गम्भीर समीक्षा नगरेसम्म हराएको जनमत पुनः फर्किने सम्भावना न्यून हुने चेतावनी दिए। उनले विभिन्न क्षेत्र—शिक्षा, उद्योग, सरकारी संयन्त्र तथा पेशागत संगठनहरूमा दलहरूले प्रभावकारी भूमिका खेल्न नसकेको प्रश्न उठाउँदै नागरिक संस्थाप्रतिको अविश्वास किन बढ्यो भन्नेमा आत्मसमीक्षा आवश्यक रहेको बताए।

उनले विश्व राजनीतिमा उदार लोकतन्त्र कमजोर बन्दै जाँदा नवउदारवाद र त्यससँगै लोकप्रियतावादको प्रभाव बढेको उल्लेख गरे। यही प्रवृत्तिको असर नेपाली राजनीतिमा पनि देखिएको उनको भनाइ छ। लोकप्रियतावादले बहुमतको आडमा फरक मत दबाउने, प्रतिशोधपूर्ण व्यवहार गर्ने र लोकतान्त्रिक अभ्यासलाई कमजोर पार्ने खतरा रहेको उनले औंल्याए।

यद्यपि, केही नीतिगत मतभेद भए पनि संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको पक्षमा रहेका वाम–लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य र एकताको आवश्यकता रहेको पुनको जोड थियो। उनले श्रमिक, किसान र कर्मचारीका आधारभूत अधिकार सुनिश्चित गर्न यस्ता शक्तिहरू एकजुट हुनुपर्ने बताए।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like