- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ, वैशाख १६ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सुकुम्वासीलाई घरबारविहीन हुन नदिने स्पष्ट प्रतिबद्धता जनाएका छन्।
बुधबार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले जोखिमपूर्ण स्थानमा बसोबास गर्दै आएका नागरिकलाई पटक-पटक सूचना दिई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताए। उनले लगत सङ्कलन तथा व्यवस्थापनको काम सरकारद्वारा जिम्मेवार ढंगले अघि बढिरहेको दाबी गरे।
लामिछानेले बाढी तथा ढलको जोखिममा रहेका बस्तीका नागरिकको सुरक्षित आवास सुनिश्चित गर्नु सरकारको दायित्व भएको उल्लेख गरे। देशभर फैलिएको सुकुम्वासी समस्या समाधानका लागि छिट्टै विशेष आयोग गठन गरिने जानकारी पनि उनले दिए।
उनले सरकारको योजनाअनुसार प्रभावित नागरिकलाई आवास मात्र नभई आधारभूत आवश्यकताहरू-गाँस, बास, कपास र रोजगारीका अवसर-समेत सुनिश्चित गरिने बताए।
यसक्रममा उनले सुकुम्वासी मुद्दालाई अनावश्यक रूपमा राजनीतिकरण नगर्न आग्रह गर्दै जोखिमयुक्त स्थानमा बसोबास गराइ भोट बैंकको राजनीति गर्नु गलत भएको टिप्पणी गरे।