- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ, वैशाख १६ - नेकपा (एमाले)ले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गरिरहेको भन्दै कडा आपत्ति जनाएको छ। राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले यस्तो कार्यशैलीलाई अलोकतान्त्रिक र असंसदीय भएको टिप्पणी गरेका छन्।
विपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले संसद्लाई निष्क्रिय बनाउँदै अध्यादेशमार्फत शासन चलाउन खोजेको आरोप लगाए। दंगालका अनुसार यदि आगामी नीति तथा कार्यक्रम र बजेटसमेत अध्यादेशबाट ल्याइयो भने संसद्को औचित्य नै समाप्त हुने अवस्था आउनेछ।
उनले भने, “अध्यादेशबाटै शासन गर्ने शैलीप्रति हाम्रो घोर आपत्ति छ। सरकारले बजेट र नीति कार्यक्रम संसद्बाटै ल्याउने अपेक्षा गरेका छौँ।”
दंगालले सरकार अध्यादेशकै बाटोमा अघि बढे विपक्षी दलहरू सडक आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी पनि दिए। “यदि नीति कार्यक्रम र बजेट पनि अध्यादेशबाटै ल्याइयो भने सदनको भूमिका समाप्त हुन्छ र हामी सडकमा जानुपर्ने अवस्था आउँछ,” उनले भने।
उनले अन्त्यमा सरकारले संवैधानिक प्रक्रियालाई सम्मान गर्दै संसद्को माध्यमबाटै नीति तथा कार्यक्रम र बजेट ल्याउने विश्वास व्यक्त गरे।