- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ। सुकुम्बासीको अवस्था मूल्यांकन गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोली फिल्डमा खटिएको छ। आयोगको टोली आइतबार बिहान कीर्तिपुरस्थित राधा स्वामी सत्सङ्ग व्यासमा पुगेर विस्थापितहरूको अवस्था अवलोकन गरेको हो।
शनिबार थापाथली र गैह्रीधारा क्षेत्रबाट सुकुम्बासीहरूलाई हटाइएको थियो। नेपाल प्रहरी र नगर प्रहरीको समन्वयमा उनीहरूलाई नागार्जुन र कीर्तिपुरस्थित सत्सङ्ग भवनलगायत स्थानमा सारिएको छ।
सुकुम्बासी हटाउने क्रममा मानव अधिकार उल्लङ्घन भएको आरोप उठिरहेका बेला आयोगले अनुगमन थालेको हो। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार प्रभावित नागरिकहरूको अवस्था बुझ्न र तथ्य संकलन गर्न टोली परिचालन गरिएको हो।
यसअघि आयोगले २०६९ सालमै वास्तविक सुकुम्बासीको पहिचान गरी वैकल्पिक बसोबासको सुनिश्चितता गरेर मात्र हटाउने व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको थियो। हालै पनि सो सिफारिस कार्यान्वयन गर्न आयोगले सरकारलाई पुनः ध्यानाकर्षण गराएको जनाएको छ।
साथै, अतिक्रमित क्षेत्रमा रहेका संरचना हटाउँदा अत्यधिक बल प्रयोग नगर्न र संयमित रूपमा कार्य गर्न आयोगले सरकारलाई सुझाव दिएको छ।