Thursday, April 30, 2026

सहकारी कार्यालयभित्र गम्भीर अवस्था: व्यवस्थापक बन्द कोठामा फेला, उद्धारपछि अस्पताल भर्ना


हेटौँडा। मकवानपुरस्थित हेटौँडा बचत तथा ऋण सहकारी संस्थाकी कायममुकायम व्यवस्थापक कार्यालयमै बन्द कोठाभित्र गम्भीर बिरामी अवस्थामा फेला परेकी छन्। उनलाई ढोका फुटाएर उद्धार गरी तत्काल अस्पताल लगिएको हो।

शुक्रबार करिब मध्याह्न १२ बजे घटना भएको हो। सुरुमा हेटौँडा अस्पताल लगिए पनि अवस्था जटिल बनेपछि थप उपचारका लागि चितवनको भरतपुरस्थित सीएमसी अस्पतालमा रेफर गरिएको परिवारले जनाएको छ।

परिवारका अनुसार ती व्यवस्थापकले सहकारीभित्रका पदाधिकारी तथा कर्मचारीबाट निरन्तर मानसिक तनाव भोग्नुपरेको कारण विषादी सेवन गरेको आरोप लगाइएको छ। सोही आधारमा पीडित पक्षले सात जना पदाधिकारीविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएको छ।

उजुरीमा सहकारीका निवर्तमान अध्यक्ष इन्द्रबहादुर बस्नेत, वर्तमान अध्यक्ष राजु वाइवा, राजन थापा, कृष्णप्रसाद दाहाल, कुलप्रसाद त्रिपाठी, नवराज खतिवडा र सुशील सुवेदीको नाम उल्लेख गरिएको छ।

घटनास्थलमा करिब ७–८ पृष्ठ लामो ‘अलबिदा’ लेखिएको सुसाइड नोट फेला परेको परिवारले जनाएको छ, जसमा उनले आफूविरुद्ध भएको दुर्व्यवहारको विवरण उल्लेख गरेको बताइएको छ।

यता सहकारीका अध्यक्ष राजु वाइवाले भने आरोप अस्वीकार गर्दै प्रशासनिक जिम्मेवारीको व्यवस्थापन र सफ्टवेयर पहुँचसम्बन्धी विषयमा सामान्य कार्यसम्पादन विवाद भएको दाबी गरेका छन्।

प्रहरीका अनुसार पीडितको स्वास्थ्य अवस्था सुधारिएपछि दुवै पक्षलाई राखेर छलफल तथा थप अनुसन्धान अघि बढाइनेछ।

हेटौँडा बचत सहकारीमा पछिल्ला वर्षहरूदेखि पदाधिकारीबीच आन्तरिक विवाद, व्यवस्थापन असहमति र आर्थिक विषयमा विवाद बढ्दै आएको स्रोतहरूले बताएका छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like