Saturday, May 2, 2026

“म अहिले पनि एमाले हुँ, सदस्यता होल्डमा मात्र छ” : विद्या भण्डारीको स्पष्ट बयान


काठमाडौं - पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू नेकपा एमालेको सक्रिय सदस्य नै रहेको बताउँदै आफ्नो पार्टी सदस्यता नवीकरण भए पनि हाल “होल्ड” अवस्थामा रहेको स्पष्ट गरेकी छन्।

नुवाकोटमा आयोजित पार्टी नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले एमालेलाई देशभक्त, राष्ट्रवादी, प्रगतिशील तथा सामाजिक न्यायको पक्षधर संगठनको रूपमा चित्रण गरिन्।

उनका अनुसार, “म अनेक हिसाबले एमालेसँग जोडिएकी छु। तपाईंहरूले माने पनि नमाने पनि मैले पार्टी सदस्यता नवीकरण गरिसकेकी छु, तर अहिले त्यो होल्डमा छ।”

भण्डारीले आफू २०३७ सालदेखि नै पार्टी राजनीतिसँग जोडिएको उल्लेख गर्दै तत्कालीन माले हुँदै हालको एमालेसम्मको राजनीतिक यात्रासँग आफ्नो निरन्तर सम्बन्ध रहेको दाबी गरिन्।

उनले एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) भएको उल्लेख गर्दै त्यसको श्रेय मदन भण्डारीलाई जाने बताइन्। मदन भण्डारीकी पत्नी भएकाले पनि आफू एमालेको राजनीतिक पहिचानसँग गहिरो रूपमा जोडिएको उनले भनाइ राखिन्।

पूर्वराष्ट्रपतिका अनुसार, जनताको समर्थन, माया र एमालेको संघर्षकै कारण आफू दुई पटक राष्ट्रपति बन्न सफल भएको हो।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like