Saturday, May 2, 2026

‘सरकारले जनअधिकार खोस्ने संकेत देखाएको छ’ - माधव नेपालको कडा टिप्पणी


काठमाडौं - पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले बालेन शाह नेतृत्वको सरकारप्रति गम्भीर आपत्ति जनाउँदै प्रारम्भिक कामहरूबाटै सकारात्मक संकेत नदेखिएको टिप्पणी गरेका छन्।

अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले वास्तविक सुकुमबासीको पहिचान नगरी तथा उनीहरूका लागि वैकल्पिक व्यवस्था सुनिश्चित नगरी डोजर चलाउने कार्यप्रति कडा आपत्ति जनाए।

नेपालले भने, “सुकुमबासीको पहिचान नगरी, वैकल्पिक व्यवस्था नगरी गरिएको दमनलाई जायज ठहर गर्न सकिँदैन। सरकारले एकपछि अर्को जनविरोधी कदम चालिरहेको देखिन्छ, जसले नागरिकको बसोबासको अधिकारमै असर पारेको छ।”

उनका अनुसार सरकारले सुरुआती चरणमै जनहित विपरीत संकेत देखाएको छ र यसप्रति सचेत हुनुपर्ने आवश्यकता छ।

यद्यपि, उनले तत्कालै कठोर आरोप लगाउने पक्षमा आफूहरू नरहेको स्पष्ट पार्दै सरकारलाई सुधार गर्ने अवसर दिनुपर्ने बताए। “भावना जति पवित्र भए पनि काम पनि त्यहीअनुसार उचित र न्यायोचित हुनुपर्छ,” भन्दै उनले सरकारलाई जनविरोधी कदमबाट टाढा रहन सुझाव दिएका छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like