Thursday, April 30, 2026

सरकारलाई आफ्नै बहुमतमा विश्वास छैन, पेलेर जान खोजे स्वीकार्य हुँदैन : गगन थापा


काठमाडौं, वैशाख १६ - नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारमाथि आफ्नै बहुमत रहेको संसद्प्रति विश्वास नरहेको आरोप लगाएका छन्। रौतहटमा पार्टीका नेता–कार्यकर्तासँगको भेटघाटका क्रममा उनले सरकारको कार्यशैली संसद् र जनताप्रति हेपाहा भएको टिप्पणी गरे।

थापाले प्रतिनिधिसभा बैठकको मिति तोकिएर आह्वान भइसकेपछि कुनै स्पष्ट सूचना बिना नै बैठक स्थगित गर्नु संसद् र नागरिक दुवैलाई अवमूल्यन गर्ने काम भएको बताए। उनका अनुसार सरकारले संसद्प्रति विश्वास नगरी अध्यादेशमार्फत कानुन अघि बढाएको छ।

उनले संवैधानिक परिषद्सम्बन्धी नियुक्तिमा पनि सरकारमाथि स्वार्थअनुकूल चलखेलको प्रयास भएको आरोप लगाए। विगतका सरकारहरूले पनि यस्ता प्रयास गरेको भए पनि आफूहरूले सधैं विरोध जनाउँदै आएको उनले स्मरण गरे।

थापाले प्रमुख प्रतिपक्ष दलका रूपमा नेपाली कांग्रेसले हेपाहा प्रवृत्ति स्वीकार नगर्ने स्पष्ट चेतावनी दिँदै भने, “म एक्लै गर्छु, अरूलाई पेल्दै जान्छु भन्ने सोचले देश चल्दैन। संसद्, दल र जनतालाई हेप्ने प्रवृत्ति स्वीकार्य हुँदैन।”

उनले सरकारले आफ्नो निर्णय सच्याएर सही प्रक्रियाबाट अघि बढ्नुपर्ने सुझावसमेत दिएका छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like