खुलामञ्च : आन्दोलन, अतिक्रमण र नागरिक स्वतन्त्रताको साक्षी
काठमाडौँको खुलामञ्च फेरि नेपाली राजनीतिक बहसको केन्द्रमा आएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिपछि खुलामञ्चको इतिहास, विगतमा भएको अतिक्रमण र त्यसलाई खुला राख्न भएका नागरिक अभियानबारे चर्चा चुलिएको हो।
२०७२ सालको भूकम्पपछि पुनर्निर्माणका सामग्री राख्ने ठाउँ तथा अस्थायी बसपार्कका रूपमा प्रयोग गरिँदा खुलामञ्चको खुला क्षेत्र क्रमशः खुम्चिँदै गएको थियो। अव्यवस्थित पार्किङ, फुटपाथ व्यापार, धुलो–धुवाँ र विभिन्न संरचनाका कारण यसको स्वरूपमा समेत असर परेको थियो।
खुलामञ्चलाई पुनः सर्वसाधारणका लागि खुला गराउन ‘अकुपाइ टुँडिखेल’ अभियान सञ्चालन गरिएको थियो। आलोकसिद्धि तुलाधर, विजय श्रेष्ठ, सञ्जय अधिकारीलगायत अभियन्ताले नेतृत्व गरेको अभियानमा तत्कालीन प्रदेश सांसद विराजभक्त श्रेष्ठ पनि सक्रिय रूपमा सहभागी भएका थिए।
अभियानका क्रममा खुलामञ्चमा स्थायी संरचना निर्माण तथा बसपार्क व्यवस्थापनका नाममा भइरहेको कामको विरोध गरिएको थियो। अभियन्ताहरूले मानव साङ्लोसहित विभिन्न दबाबमूलक कार्यक्रम सञ्चालन गरेका थिए। प्रदेशसभामा समेत खुलामञ्च अतिक्रमणको विषय उठाइएको थियो।
नागरिक अभियान र राजनीतिक दबाबपछि निर्माण गरिएका केही संरचना हटाइएका थिए। त्यसपछि पनि खुलामञ्चलाई खुला र सार्वजनिक प्रयोगका लागि सुरक्षित राख्न विभिन्न तहबाट पैरवी हुँदै आएको थियो।
हाल खुलामञ्चलाई हरियालीसहित पुनः व्यवस्थित गर्ने काम गरिएको छ। खुला क्षेत्र, घाँसे चउर र पैदलमार्ग निर्माणसँगै यसको सार्वजनिक प्रयोग बढेको छ।
खुलामञ्च केवल सार्वजनिक खुला स्थान मात्र नभई नेपालको राजनीतिक तथा नागरिक आन्दोलनको महत्वपूर्ण स्थलका रूपमा समेत परिचित छ। विभिन्न राजनीतिक आन्दोलन, नागरिक अधिकारका अभियान र सार्वजनिक सभाहरूको साक्षी बनेको यस स्थानलाई इतिहासविद्हरूले नेपालको लोकतान्त्रिक यात्रासँग जोडेर हेर्ने गरेका छन्।
२०१७ सालपछिका राजनीतिक गतिविधिदेखि २०३६ को जनमतसंग्रह, २०४२ को सत्याग्रह, २०४६ को जनआन्दोलन तथा २०६२/६३ को जनआन्दोलनसम्म खुलामञ्चले विभिन्न राजनीतिक घटनाक्रममा सार्वजनिक गतिविधिको स्थलका रूपमा भूमिका खेलेको उल्लेख गरिन्छ।
आज नेपाली कांग्रेसको १५औँ महाधिवेशनसमेत यही खुलामञ्चमा जारी रहेका बेला यसको विगतदेखि वर्तमानसम्मको यात्रा फेरि चर्चामा आएको छ।






