काठमाडौं, १७ चैत - शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालको खेलकुद क्षेत्रको दीर्घकालीन विकासका लागि विद्यालयको पाठ्यक्रममै खेलकुद समावेश गर्ने योजना अघि सारेका छन्।
मंगलबार राष्ट्रिय खेलकुद परिषद्मा निरीक्षणका क्रममा उनले अब नीतिगत तहबाटै खेलकुदलाई शिक्षासँग जोड्ने प्रक्रिया अघि बढाइने बताएका हुन्। पाठ्यक्रम विकास केन्द्रसँग समन्वय गरेर विद्यालयस्तरमै खेलकुदलाई समेट्ने तयारी भइरहेको उनको भनाइ छ।
मन्त्री पोखरेलका अनुसार आगामी पाँच वर्षभित्रै तल्लो तहबाटै खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको छ। हाल सानै उमेरदेखि खेलाडी उत्पादन हुन नसक्नु नै नेपाली खेलकुदको प्रमुख समस्या रहेको उनले औंल्याए।
काठमाडौं महानगरपालिकामा रहँदा सुरु गरिएको ‘रचनात्मक विद्यालय’ कार्यक्रमको अनुभव उल्लेख गर्दै उनले अब कानुनी र नीतिगत रूपमै खेलकुदलाई शिक्षासँग एकीकृत गर्ने प्रतिबद्धता जनाए।
उनले नेपालका अधिकांश खेलाडी नेपाल प्रहरी, सेना र एपीएफ जस्ता संस्थाबाट आउने गरेको उल्लेख गर्दै ती संस्थामा उपलब्ध हुने प्रशिक्षण, आहार र सुविधा सानै उमेरदेखि उपलब्ध गराउन सके खेलकुद क्षेत्र अझै बलियो बन्ने विश्वास व्यक्त गरे।
मन्त्री पोखरेलले खेलकुदले शारीरिकसँगै मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने बताउँदै सबै सरोकारवालालाई सहकार्य र एकतामा जोड दिन आग्रह गरेका छन्।





