काठमाडौंको त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा मृत्यु भएका व्यक्तिको पहिचान गर्न प्रहरीले अनुसन्धान अघि बढाएको छ।
बसमा भेटिएको लाइसेन्सका आधारमा प्रहरीले मृतकलाई काभ्रेका २५ वर्षीय दावा लामा भएको जानकारी दिएको थियो। तर दावा लामा नाम गरेका व्यक्ति आफू सकुशल रहेको भन्दै सम्पर्कमा आएपछि मृतकको पहिचानबारे अन्योल उत्पन्न भएको हो।
प्रहरीले लाइसेन्स दुरुपयोग भएको हुनसक्ने आशंका समेत गरेको छ। आफूलाई दावा लामा बताउने व्यक्तिलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा बोलाएर प्रहरीले अहिले सोधपुछ गरिरहेको जनाएको छ।
रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा सोमबार दिउँसो त्रिपुरेश्वर बस स्टप नजिक आगलागी भएको थियो। आगलागी हुनुअघि बस चालक र ट्राफिक प्रहरीबीच विवाद भएको बताइएको छ।
त्यसको केही समयपछि बसको पछिल्लो भागतर्फबाट आगो सल्किएको देखिएको थियो। घटनामा एक जनाको मृत्यु भएको छ भने मृतकको वास्तविक पहिचान र आगलागीको कारणबारे काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले अनुसन्धान गरिरहेको जनाएको छ।





