मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

ट्रम्पको तस्बिर अंकित एक डलरको नयाँ सिक्का सार्वजनिक, कानुनी र राजनीतिक विवाद चर्कियो

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर ८
5
0
ट्रम्पको तस्बिर अंकित एक डलरको नयाँ सिक्का सार्वजनिक, कानुनी र राजनीतिक विवाद चर्कियो
सारांश
काठमाडौं। अमेरिकी अर्थ मन्त्रालयअन्तर्गतको युएस मिन्टले राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अंकित नयाँ एक डलरको सिक्का सार्वजनिक गरेको छ। अमेरिका स्थाप...


काठमाडौं। अमेरिकी अर्थ मन्त्रालयअन्तर्गतको युएस मिन्टले राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अंकित नयाँ एक डलरको सिक्का सार्वजनिक गरेको छ। अमेरिका स्थापनाको २५०औँ वार्षिकोत्सवका अवसरमा जारी गरिएको यो सिक्का आधुनिक अमेरिकी इतिहासमा बहालवाला राष्ट्रपतिको तस्बिर धातुको मुद्रामा राखिएको दुर्लभ घटना हो।

सिक्काको अगाडिको भागमा ट्रम्पको औपचारिक तस्बिरसँगै ‘लिबर्टी’ र ‘१७७६–२०२६’ लेखिएको छ। पछाडिको भागमा अमेरिकी राष्ट्रपतीय छाप, राजगरुड र ‘२५०’ अंक राखिएको छ।

सुनौलो देखिने सिक्का वास्तविक सुनबाट बनेको भने होइन। युएस मिन्टका अनुसार यसमा मुख्य रूपमा तामा, जस्ता, म्याङ्गनिज र निकेलको मिश्रण प्रयोग गरिएको छ। सिक्का कानुनी रूपमा एक डलरको भए पनि सङ्कलनकर्तालाई लक्षित बिक्रीमा यसको मूल्य अंकित मूल्यभन्दा बढी राखिएको छ।

अनलाइन बिक्री सुरु भएको केही समयमै अत्यधिक मागका कारण युएस मिन्टको वेबसाइटमा मौज्दात सकिएको देखिएको थियो। विशेष रूपमा जुलाई ४ का दिन जारी गरिएका केही सिक्कामा अतिरिक्त चिह्नसमेत राखिएको छ।

तर ट्रम्पको तस्बिर सिक्कामा राखिएपछि यसको कानुनी र राजनीतिक विवाद पनि चर्किएको छ। अमेरिकी कानुनले जीवित व्यक्तिको तस्बिर मुद्रामा राख्ने विषयमा लामो समयदेखि प्रतिबन्ध लगाउँदै आएको भए पनि प्रशासनले सन् २०२० मा पारित विशेष कानुनी व्यवस्थाको आधारमा यो सिक्का जारी गरिएको तर्क गरेको छ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सिक्काले अमेरिकी मूल्य–मान्यता र स्वतन्त्रताको उत्सव मनाउने बताएका छन्। ट्रम्पले पनि आफू सिक्काबाट सम्मानित भएको प्रतिक्रिया दिएका छन्।

यता डेमोक्र्याटिक सांसद तथा राजनीतिक विश्लेषकहरूले भने आर्थिक दबाब र महँगीका बीच राष्ट्रपतिले सार्वजनिक मुद्रासमेत व्यक्तिगत प्रचारका लागि प्रयोग गरेको भन्दै आलोचना गरेका छन्।

ट्रम्पको तस्बिर र नामलाई सरकारी तथा सार्वजनिक संरचनामा स्थापित गर्ने पछिल्ला प्रयासहरूको निरन्तरताका रूपमा समेत यस घटनालाई हेरिएको छ। यसले अमेरिकी राजनीतिक संस्कृति, कानुनी परम्परा र राष्ट्रपतिको व्यक्तिगत ब्रान्डिङबीचको सीमाबारे नयाँ बहस सिर्जना गरेको छ।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार