रास्वपा सचेतक क्रान्तिशिखा धितालले चालक र यात्रुसँग ट्राफिक प्रहरी तथा सुरक्षाकर्मीले गर्ने व्यवहार र कार्यशैलीको गम्भीर समीक्षा गर्नुपर्ने बताएकी छन्।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै धितालले त्रिपुरेश्वरमा भएको घटनाबारे बाहिर आएका विवादास्पद सूचना तथा विगतका विषयमा थप अनुसन्धान गरी प्रहरीले सत्यतथ्य सार्वजनिक गर्ने विश्वास व्यक्त गरिन्।
उनले चालकहरूको आत्मसम्मान, इज्जत, न्यूनतम पारिश्रमिक, खानपान, आराम, काम गर्ने समय तथा शारीरिक र मानसिक स्वास्थ्यको परीक्षण नहुनु संवेदनशील विषय भएको बताइन्।
चालकलाई मात्र दोष थोपरेर समस्या समाधान नहुने भन्दै उनले राज्य, सम्बन्धित निकाय र यातायात व्यवसायी सबैले यस विषयमा गम्भीर हुनुपर्ने धारणा राखिन्।
आजकै प्रतिनिधिसभा बैठकमा अन्य सांसदहरूले पनि त्रिपुरेश्वर घटनाप्रति दुःख व्यक्त गर्दै सार्वजनिक यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि गम्भीर पहल गर्नुपर्ने बताएका छन्। उनीहरूले घटनाबारे गृहमन्त्रीको जवाफसमेत माग गरेका छन्।





