बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या प्रकरणमा प्रतिवादी बनाइएका १० जनालाई बारा जिल्ला अदालतले धरौटी तथा साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।
जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले प्रोग्रेस भनिने पुरग्रेस चौधरीलाई २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। अन्य नौ जना प्रतिवादीलाई तत्काल प्राप्त प्रमाणले अभियोग पुष्टि गर्न पर्याप्त आधार नदेखिएको भन्दै साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिइएको छ।
साधारण तारेखमा रिहा हुनेमा इन्द्रजित चौधरी, बबिता चौधरी, ममता चौधरी, पुष्पा चौधरी, नवीन विक, टेकबहादुर थापा मगर, शेष हसमुदिन आलम, सबिता चौधरी र बिन्दु देवी चौधरी रहेका छन्।
उनीहरूमाथि अभिभावकले दिएको किटानी जाहेरीका आधारमा अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी अभियोग लगाइएको थियो। तर थुनछेकको चरणमा अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा अन्य प्रतिवादीविरुद्ध अभियोग पुष्टि हुने पर्याप्त आधार नदेखिएको ठहर गरेको हो।
यसअघि घटनामा प्रतिवादी बनाइएका दुई नाबालकलाई बाल सुधारगृहमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिइएको थियो।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा एक नाबालकले बालिकालाई चकलेट खुवाएर लगेको र घटनाबारे बयान दिएका थिए। प्रहरीले उनको बयान तथा घटनास्थलबाट प्राप्त परिस्थितिजन्य तथ्यका आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ।
बालिका साउन ३१ गतेदेखि हराएकी थिइन्। खोजीका क्रममा भदौ २ गते जीतपुरसिमरा–१ भक्तिनगर टोलस्थित एउटा खाली घरमा उनको शव फेला परेको थियो। घटनापछि बारा तथा काठमाडौंमा विरोध प्रदर्शनसमेत भएका थिए।
अदालतको यो आदेश अन्तिम फैसला भने होइन। मुद्दाको पुर्पक्षका क्रममा थप प्रमाणको मूल्यांकन हुनेछ र अन्तिम फैसलापछि मात्र प्रतिवादीहरूको दोष वा निर्दोषबारे कानुनी निष्कर्ष आउनेछ।





