राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा बसेको सर्वदलीय बैठकले विपद् व्यवस्थापन तथा भोटेकोशी बाढीपछिको राहत, पुनर्स्थापना र पुनर्निर्माणसँग सम्बन्धित तीन निर्णय गरेको छ।
बैठकका तीन मुख्य निर्णय यस्ता छन् :
१. संसदीय विशेष समिति गठन गर्ने
बाढी–पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कामको समन्वय र अनुगमन गर्न संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको सिट संख्याका आधारमा एक साताभित्र संसदीय विशेष समिति गठन गर्ने सहमति भएको छ। यसका लागि सभामुखसमक्ष आग्रह गर्ने निर्णय पनि भएको छ।
२. भोटेकोशी बाढीपछिको कामको समीक्षा गर्ने
भोटेकोशी बाढीपछि सरकारले गरेको खोजी तथा उद्धार, राहत वितरण, पुनर्स्थापना र पुनर्निर्माणका कामको गम्भीर समीक्षा गर्ने निर्णय भएको छ। प्रभावित क्षेत्रमा राजनीतिक दल तथा राज्यका विभिन्न निकायबाट भएका कामबारे पनि छलफल गरिएको थियो।
३. रवि लामिछाने संयोजक रहेको राजनीतिक संयन्त्रलाई निरन्तरता दिने
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र समग्र विकास निर्माणका विषयमा समन्वय गर्न रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय भएको छ। संयन्त्रमा विभिन्न राजनीतिक दलको प्रतिनिधित्व रहनेछ।
बैठकमा भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा भइरहेको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका काम तथा आगामी दिनमा विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।





