मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
अर्थ/व्यापार

सुनको भाउ आकाशिँदै, अन्तर्राष्ट्रिय बजारको प्रभावले नेपाली बजारमा उच्च मूल्य

स
समाचार कक्ष
२०२५ सेप्टेम्बर १
4
0
सुनको भाउ आकाशिँदै, अन्तर्राष्ट्रिय बजारको प्रभावले नेपाली बजारमा उच्च मूल्य
सारांश
१६ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा तीव्र वृद्धि भइरहेका बेला त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिन थालेको छ। सोमबार नेपाली...

१६ भदौ, काठमाडौं ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा तीव्र वृद्धि भइरहेका बेला त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिन थालेको छ। सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा पुगेको छ, जुन अहिलेसम्मकै उच्च मूल्यमध्ये एक हो। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३४८० अमेरिकी डलरसम्म पुगेको छ।

विशेषगरी दुई कारणले सुनको मूल्यमा लगातार वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। पहिलो कारण हो—अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले आगामी सेप्टेम्बरमा ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाउने अपेक्षा। यसले लगानीकर्ताहरूलाई सुनतिर आकर्षित गरिरहेको CNBC ले उल्लेख गरेको छ। ब्याजदर घट्ने चर्चा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाब र जुलाई महिनाको २.६ प्रतिशतको उपभोक्ता मूल्यवृद्धिका कारण बढेको हो।

दोस्रो कारण भनेको अन्तर्राष्ट्रिय व्यापारिक तनाव हो। हाल भारत र अमेरिकाबीचको व्यापार युद्ध चर्किँदै गएको छ, जसले चीन, रुस र भारतलाई एकआपसमा नजिक्याएको छ। यस्तो राजनीतिक र व्यापारिक अस्थिरताका समयमा सुन सुरक्षित लगानीका रूपमा हेरिने भएकाले मूल्य बढ्ने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य बताउँछन्। भारतमा गरगहनाका लागि सुनको माग उच्च हुने भएकाले त्यहाँको बजार उतारचढावले समेत मूल्यमा असर गर्ने उनको भनाइ छ।

अमेरिकाले भारतबाट निर्यात हुने वस्तुहरूमा ५० प्रतिशतसम्म भन्सार शुल्क लगाएपछि दुई देशबीचको व्यापार सम्बन्ध चिसिएको छ। यस्ता परिस्थितिहरूले सुनको भाउ अझै बढ्ने संकेत देखिएको छ।

भविष्यमा कति पुग्ला सुनको भाउ?

अन्तर्राष्ट्रिय विश्लेषण संस्थाहरूले सुनको मूल्य अझै बढ्न सक्ने प्रक्षेपण गरेका छन्। CoinCodex का अनुसार केही दिनमै सुनको मूल्य ३५०० डलरसम्म पुग्न सक्नेछ भने डिसेम्बरको अन्त्यसम्म यो ३७८० डलरसम्म पुग्ने अनुमान गरिएको छ। यो मूल्यवृद्धिले नेपाली बजारमा सुनको मूल्य प्रतितोला झण्डै २ लाख २३ हजार रुपैयाँसम्म पुग्ने सम्भावना देखिन्छ।

उक्त संस्थाको दीर्घकालीन प्रक्षेपण अनुसार सन् २०२६ को अन्त्यसम्म सुनको भाउ ४३०० डलर प्रतिऔंस पुग्न सक्नेछ। त्यस्तो अवस्थामा नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ।

सुनको मूल्यमा यथावत चाप रहने संकेत दिँदै विश्लेषकहरूले लगानीकर्तालाई सचेत रहन सुझाव दिएका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार