सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ र ४ मा पर्ने हुङ्गा (हुङ्कु) खोला पहिरोका कारण थुनिएको छ। शुक्रबार बिहान गएको पहिरोले खोला थुनेपछि खोलामा कृत्रिम ताल बनेको हो।
गौरीशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब १०० मिटर तल, वडा नम्बर–२ तर्फ करिब ३५ मिटर अग्लो पहिरो खसेर खोला थुनिएको सोलुखुम्बु प्रहरीले जनाएको छ। पहिरोका कारण करिब १०० मिटर लामो र १५ मिटर गहिरो पानी जमेको छ।
सोलुखुम्बुका प्रहरी प्रमुख डीएसपी नविनराजा बुढाथोकीका अनुसार पहिरोले बनेको अस्थायी बाँधमाथिबाट पानी विस्तारै बग्न थालेको छ। यसले तत्कालको ठूलो जोखिम केही कम गरेको भए पनि बाँध जुनसुकै बेला फुट्न सक्ने सम्भावना भने कायमै रहेको प्रहरीले जनाएको छ।
खोला थुनिएपछि प्रहरीले नदी किनारमा बसोबास गर्ने स्थानीयवासी तथा आसपासका दुईवटा जलविद्युत् आयोजनालाई सतर्क रहन आग्रह गरेको छ। बाँध फुटेमा हुङ्गा खोलाको पानी तल्लो तटीय क्षेत्रमा फैलिँदै सोताङ र थुलुङ दूधकोशी गाउँपालिका हुँदै खोटाङ तथा ओखलढुंगातर्फको दूधकोशी नदीसम्म प्रभाव पार्न सक्ने जोखिम रहेको बताइएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय बुङबाट करिब १० किलोमिटर दक्षिण–पूर्वमा पर्छ। हाल प्रहरी तथा सम्बन्धित निकायले अवस्थाको निगरानी गरिरहेका छन्।





