सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेश प्रदेश अधिवेशन अझै अनिश्चित बनेको छ। मधेश प्रदेशका आठ जिल्लामध्ये पर्साबाहेक अन्य सात जिल्लामा अधिवेशन हुन नसकेको अवस्थामा पार्टीले संगठनात्मक अवस्था र आन्तरिक विवादको अध्ययन गर्न अडिट समिति परिचालन गरेको थियो।
सहमहामन्त्री हरि ढकालको नेतृत्वमा संगठन विभाग प्रमुख प्रमोद न्यौपाने, प्रवक्ता जगदीश खरेल, सहप्रवक्ता सुरेन्द्र चौधरी तथा अशोककुमार चौधरी र पुनम अग्रवाल सदस्य रहेको टोलीले मधेशका सम्बन्धित जिल्लामा पुगेर नेता–कार्यकर्तासँग छलफल गरेको थियो।
टोलीले प्रारम्भिक तथा संक्षिप्त प्रतिवेदन पार्टी सचिवालयमा बुझाइसकेको छ। विस्तृत प्रतिवेदन भने अर्को बैठकमा प्रस्तुत गर्ने तयारी रहेको रास्वपाले जनाएको छ। त्यसपछि मधेशको संगठन र अधिवेशनबारे थप रणनीतिक निर्णय गरिने भएको छ।
यसअघि पनि मधेशमा आन्तरिक विवादका कारण अधिवेशन प्रक्रिया रोकिएको थियो। पर्सामा मात्रै जिल्ला अधिवेशन सम्पन्न भएको र अन्य सात जिल्लामा अधिवेशन हुन नसकेपछि रास्वपाले पहिलो महाधिवेशनमा पुरानो तदर्थ संरचनाका आधारमा मधेशबाट प्रतिनिधित्व गराएको थियो।
पार्टीभित्रको विवादका कारण नयाँ र पुराना कार्यकर्ताबीचको मतभेद, नेतृत्व चयनको प्रतिस्पर्धा तथा संगठनमा विभिन्न तहबाट हुने हस्तक्षेपजस्ता विषय उठ्दै आएका छन्। यी विषयलाई लिएर मधेशमा अधिवेशनको प्रक्रिया प्रभावित भएको पार्टी नेताहरूले बताउँदै आएका छन्।
अडिटपछि केही स्थानमा पहिले भएका अधिवेशनको वैधता पुनरावलोकन गर्नुपर्ने तथा आवश्यक परे तदर्थ संरचनामार्फत संगठन सञ्चालन गर्नुपर्ने विषयमा पनि छलफल भइरहेको बताइएको छ। यद्यपि अन्तिम निर्णय भने विस्तृत अडिट प्रतिवेदनपछि मात्रै हुने देखिएको छ।
यसैबीच, पार्टी सभापति रवि लामिछानेले मधेशका जिल्लामा पुगेर अधिवेशनको वातावरण बनाउने तयारीबारे यसअघि चर्चा भए पनि हालको अवस्थामा त्यसको समयतालिका स्पष्ट छैन।
रास्वपाको मधेश अधिवेशन कहिले हुने भन्ने विषय संगठन अडिटको विस्तृत प्रतिवेदन, आन्तरिक विवाद समाधान र पार्टी नेतृत्वको आगामी निर्णयमा निर्भर रहने देखिएको छ।





