मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

प्राकृतिक नाकाबन्दीमा लिमी : सडकमा साढे तीन फिट हिउँ, बिरामी पर्दा हेलिकप्टरको भर

admin
admin
3 दिन अगाडि
13
0
प्राकृतिक नाकाबन्दीमा लिमी : सडकमा साढे तीन फिट हिउँ, बिरामी पर्दा हेलिकप्टरको भर
सारांश

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका लिमी र हिल्सा क्षेत्र भारी हिमपातका कारण सडक सञ्जालबाट अलग भएका छन्। न्यालु र नारा लेकमा साढे तीन फिटसम्...

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका लिमी र हिल्सा क्षेत्र भारी हिमपातका कारण सडक सञ्जालबाट अलग भएका छन्। न्यालु र नारा लेकमा साढे तीन फिटसम्म हिउँ जम्दा असोजको पहिलो सातादेखि लिमीको सडक आवागमन ठप्प भएको हो।

सडक बन्द भएपछि स्थानीयलाई अत्यावश्यक कामका लागि समेत हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था आएको छ। दशैं–तिहार नजिकिँदै गर्दा ताक्लाकोटमा रहेका हुम्लाका बासिन्दालाई घर फर्किनसमेत समस्या भएको लिमी–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए।

करिब चार हजार मिटर उचाइमा रहेको तुम्लिङ बजारमा तीन फिटसम्म हिउँ जमेको छ। बाक्लो हिमपातका कारण होटल व्यवसायी, चौरी गोठाला तथा स्थानीयको दैनिक जनजीवन प्रभावित भएको छ। तुम्लिङबाट सामान्य अवस्थामा चार घण्टामा पुगिने जाङ गाउँ पुग्न अहिले दुई दिनसम्म लाग्ने गरेको स्थानीयले बताएका छन्।

हिमपातका कारण तुम्लिङमा खानेपानीका धारासमेत जमेको छ। स्थानीयले हिउँ पगालेर पानीको व्यवस्था गरिरहेका छन्। सडक अवरुद्ध हुँदा खाद्यान्न, दाउरा र अन्य दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत समस्या भएको छ।

लिमीको सुनखानीस्थित प्रहरी चौकी पनि हिमपातबाट प्रभावित भएको छ। चौकी आसपास करिब तीन फिट हिउँ जमेको र खानेपानी तथा दाउराको अभाव भएको जनाइएको छ। सञ्चार सुविधा कमजोर भएकाले आवश्यक सूचना आदानप्रदानका लागि प्रहरीलाई हल्जी गाउँसम्म पैदल जानुपर्ने अवस्था रहेको छ।

यस्तै, चार हजार ६७० मिटर उचाइमा रहेको नारा लेकमा साढे तीन फिटसम्म हिउँ जम्दा हिल्सा–सिमकोट सडकखण्ड पनि अवरुद्ध भएको छ। सडकमा जमेको हिउँ जेसीबी प्रयोग गरेर पन्छाउनुपर्ने अवस्था रहेको स्थानीय सुरक्षाकर्मीले बताएका छन्।

हिमपातका कारण हिल्सामा रहेका सुरक्षाकर्मी, भन्सार तथा अध्यागमनका कर्मचारी, होटल व्यवसायी र स्थानीय व्यापारीसमेत प्रभावित भएका छन्।

स्थानीयका अनुसार पछिल्ला करिब १५ वर्षयता पहिलोपटक असोजमै हिल्सा क्षेत्रमा यति बाक्लो हिमपात भएको हो। दशैं–तिहारको समयमा सडक बन्द हुँदा आवतजावतसँगै दैनिक उपभोग्य सामग्रीको आपूर्तिमा समेत समस्या बढेको छ।

लिमी र हिल्सा क्षेत्रका स्थानीयले सडकमा जमेको हिउँ तत्काल पन्छाएर यातायात सञ्चालन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार