मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

पश्चिमी प्रणालीको प्रभाव देशभर: काठमाडौंमा हल्का वर्षा, पहाड–हिमालमा हिमपात, यातायात र जनजीवन प्रभावित

स
समाचार कक्ष
२०२६ जनवरी २८
6
0
पश्चिमी प्रणालीको प्रभाव देशभर: काठमाडौंमा हल्का वर्षा, पहाड–हिमालमा हिमपात, यातायात र जनजीवन प्रभावित
सारांश
१४ माघ, काठमाडौं - पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा र हिमपात भएको छ। पश्चिम नेपाल हुँदै पूर्...

१४ माघ, काठमाडौं - पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा र हिमपात भएको छ। पश्चिम नेपाल हुँदै पूर्वतर्फ सरेको यो प्रणालीले उपत्यकामा हल्का वर्षा गराएको हो भने उच्च पहाडी र हिमाली क्षेत्रमा व्यापक हिमपात भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रणालीको सबैभन्दा बढी प्रभाव सुदूरपश्चिम प्रदेशमा देखिएको छ। बादल क्रमशः पूर्वतर्फ सर्दै कोशी प्रदेशसम्म पुग्ने अनुमान गरिएको छ, यद्यपि पूर्वतर्फ जाँदा यसको प्रभाव कमजोर हुँदै जाने विभागको भनाइ छ। वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार पानी पार्ने बादल तीव्र गतिमा पूर्वतर्फ सर्दै गर्दा पूर्वी पहाडी जिल्लासम्म वर्षा गराउने सम्भावना छ। मधेश र पूर्वी तराईका झापा लगायतका केही जिल्ला बाहेक अधिकांश स्थानमा हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ।

यसैबीच, निरन्तर वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। बागलुङ र पूर्वी रुकुमको सिमाना पर्ने पाती हाल्ने क्षेत्रमा भारी हिमपात हुँदा सडक अवरुद्ध बनेको हो। लोकमार्ग बन्द भएपछि सयौँ यात्रु अलपत्र परेका छन् भने लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन ठप्प भएको इलाका प्रहरी कार्यालयले जनाएको छ। निरन्तर हिमपात भइरहेकाले तत्काल सडक खुल्ने सम्भावना न्यून रहेको बताइएको छ। काठमाडौंबाट रुकुम, जाजरकोट, डोल्पालगायतका गन्तव्यतर्फ छुटेका सवारीसाधन निसीखोला गाउँपालिका–६ भल्कोट आसपास रोकिएका छन्।

उता, हिमाली जिल्ला डोल्पामा पनि फेरि हिमपात सुरु भएको छ। माथिल्लो डोल्पाका उच्च भेगसहित जिल्लाका विभिन्न स्थानमा बुधबार बिहानदेखि वर्षासँगै हिमपात भइरहेको स्थानीयले बताएका छन्। शे–फोक्सुण्डो, डोल्पो बुद्ध, छार्का ताङसोङ गाउँपालिकाका साथै जग्दुल्ला, काइके, मुड्केचुला र त्रिपुरासुन्दरी तथा ठूलीभेरी नगरपालिकाका उच्च स्थानमा हिमपात जारी छ।

हिमपातका कारण अत्यधिक चिसो बढ्दा जनजीवन कष्टकर बनेको छ। विशेषगरी वृद्धवृद्धा, बालबालिका र विपन्न वर्ग बढी प्रभावित भएका छन्। यद्यपि, यो सिजनको दोस्रो पटकको वर्षा र हिमपातले गहुँ, जौजस्ता हिउँदे बालीमा सकारात्मक असर पार्ने भएकाले किसानहरू भने केही हदसम्म सन्तुष्ट देखिएका छन्।

हिमपात र वर्षाले दैनिक जनजीवनसँगै स्वास्थ्य सेवा, पर्यटन, हवाई तथा सडक यातायातमा समेत प्रभाव पारेको स्थानीयले बताएका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार