मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

पैसा नभएपछि अस्पतालले भर्ना लिएन? सरकारी अस्पतालअगाडि फुटपाथमै बच्चा जन्माएको आरोप

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर १०
5
0
पैसा नभएपछि अस्पतालले भर्ना लिएन? सरकारी अस्पतालअगाडि फुटपाथमै बच्चा जन्माएको आरोप
सारांश
राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा भर्ना नलिएपछि एक विपन्न महिलाले अस्पतालअगाडिको फुटपाथमै बच्चा जन्माएको घटना सार्वजनिक भएको छ। राजव...


राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा भर्ना नलिएपछि एक विपन्न महिलाले अस्पतालअगाडिको फुटपाथमै बच्चा जन्माएको घटना सार्वजनिक भएको छ।

राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता पासवानलाई मंगलबार राति करिब डेढ बजे प्रसूति व्यथा लागेको थियो। उनी श्रीमान् हरेराम पासवान र आफन्तसहित सिटी रिक्सामा अस्पताल पुगेकी थिइन्।

बबिताको दाबीअनुसार अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले अल्ट्रासाउन्ड तथा रगत र पिसाब परीक्षण गर्नुपर्ने भन्दै करिब २ हजार ५०० रुपैयाँ लाग्ने बताएका थिए। आफूहरूसँग पैसा नभएको बताएपछि जाँचबिना प्रसूति गराउन नमिल्ने भन्दै अस्पतालबाट बाहिर पठाइएको उनको आरोप छ।

अस्पतालबाट बाहिरिएपछि बबिता अस्पतालनजिकैको औषधि पसलअगाडि बसेकी थिइन्। केही समयपछि प्रसूति पीडा बढेपछि आफन्तको सहयोगमा उनले त्यहीँ छोरालाई जन्म दिएकी हुन्।

बच्चा जन्मिएपछि परिवारले आमासहित शिशुलाई अस्पतालमा लगे पनि भर्ना नलिइएको बबिताको आरोप छ। घटनाको भिडियो सार्वजनिक भएपछि सरकारी अस्पतालको सेवा प्रणाली र स्वास्थ्यकर्मीको व्यवहारमाथि प्रश्न उठाउँदै सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ।

तर अस्पतालका ‘फ्रि हेल्थ सर्भिस’ फोकल पर्सन मनोज देवले भने फरक दाबी गरेका छन्। उनका अनुसार बबिता राति अस्पताल पुगेपछि बेडमा भर्ना गरिएको, प्रारम्भिक परीक्षणपछि थप स्वास्थ्य जाँचका लागि ल्याब पठाइएको र परिवार ल्याबबाटै बाहिरिएको हो। बिहान करिब ५ बजे बच्चा जन्मिएपछि मात्रै उनीहरू अस्पताल फर्किएको उनको दाबी छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जितकुमार झाले आफू काठमाडौंमा रहेको र भिडियो हेरेपछि घटनाबारे जानकारी पाएको बताएका छन्। उनले घटनाबारे छानबिन गर्न समिति गठन गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।

सरकारी तथा निजी अस्पतालमा विपन्न तथा गरिबका लागि निश्चित बेड छुट्याउनुपर्ने कानुनी व्यवस्था रहेकाबीच सरकारी अस्पतालअगाडि नै यस्तो घटना भएको आरोपले स्वास्थ्य सेवाको पहुँच र विपन्न नागरिकप्रतिको व्यवहारबारे गम्भीर प्रश्न उठाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार