मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

नेपाल–जापान सम्बन्धको ७०औँ वर्षमा परराष्ट्रमन्त्री खनाल र जापानी विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २२
4
0
नेपाल–जापान सम्बन्धको ७०औँ वर्षमा परराष्ट्रमन्त्री खनाल र जापानी विदेशमन्त्री मोटेगीबीच भेटवार्ता
सारांश
परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएक...


परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ।

भेटमा जापानी विदेशमन्त्री मोटेगीले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गरे। उनले विपद्पछिको उद्धार तथा सहयोगका लागि नेपाल सरकारले गरिरहेको प्रयासको प्रशंसा गर्दै जापान नेपालसँगै रहेको बताए।

मोटेगीले जापानले आपत्कालीन अवस्थादेखि मध्यम तथा दीर्घकालीन चरणसम्म नेपाललाई सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

परराष्ट्रमन्त्री खनालले बाढीबाट भएको क्षतिप्रति जापान सरकार र जापानी जनताले व्यक्त गरेको समवेदना तथा ऐक्यबद्धताका लागि धन्यवाद दिए। उनले विपद्मा हराइरहेका विदेशी नागरिक, जापानी नागरिकसमेतको खोज तथा उद्धारका लागि नेपाल सरकारले निरन्तर प्रयास गरिरहेको जानकारी गराए।

भेटवार्तामा नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष मनाइरहेको विषयमा पनि छलफल भयो।

जापानी विदेशमन्त्री मोटेगीले लोकतन्त्रको सुदृढीकरण तथा राष्ट्र निर्माणका क्रममा जापानले नेपाललाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गरे। आगामी नोभेम्बरमा नेपालमा आयोजना हुने ‘नेपाल–जापान फेस्टिभल’ले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप गहिरो बनाउने विश्वास उनले व्यक्त गरे।

मोटेगीले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारसँग जापानले नेपालको विकास प्रयासमा निरन्तर सहयोग गर्ने बताए। परराष्ट्रमन्त्री खनालले पनि जापानको दीर्घकालीन सहयोगप्रति धन्यवाद दिँदै ७०औँ वर्षको अवसरमा नेपाल–जापान सम्बन्धलाई आगामी दिनमा थप विस्तार र सुदृढ गर्न नेपाल इच्छुक रहेको बताए।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार