मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

निर्वाचन रणनीतिदेखि चीन–भारतको भूराजनीतिक प्रतिस्पर्धासम्म : माधव थापाका दुई पुस्तक विमोचित

M
Mero Nepal TV
56 मिनेट अगाडि
89
2
निर्वाचन रणनीतिदेखि चीन–भारतको भूराजनीतिक प्रतिस्पर्धासम्म : माधव थापाका दुई पुस्तक विमोचित
सारांश

काठमाडौं । निर्वाचनमा सफलता हासिल गर्ने रणनीति निर्माणदेखि नेपालमा चीन र भारतबीचको भूराजनीतिक प्रतिस्पर्धासम्मका विषय समेटिएका लेखक माधव थापाका दुई...

काठमाडौं । निर्वाचनमा सफलता हासिल गर्ने रणनीति निर्माणदेखि नेपालमा चीन र भारतबीचको भूराजनीतिक प्रतिस्पर्धासम्मका विषय समेटिएका लेखक माधव थापाका दुई पुस्तक विमोचन भएका छन्। पूर्वपरराष्ट्रमन्त्री एवं पूर्वरथी बालानन्द शर्माले असोज २५ गते काठमाडौंको नयाँ बानेश्वरस्थित अल्कोभ रेस्टुरेन्टमा आयोजित कार्यक्रममा How to Win Election? An Election Strategy Making Process र Changing Dynamism of Sino-Indian Geopolitical Rivalry in Nepal सार्वजनिक गरेका हुन्। दुवै पुस्तकमा नेपालको निर्वाचन व्यवस्थापन, राजनीतिक रणनीति, क्षेत्रीय शक्ति प्रतिस्पर्धा तथा राष्ट्रिय हितसँग सम्बन्धित विषय समेटिएका छन्।

थापाद्वारा लिखित How to Win Election? An Election Strategy Making Process पुस्तक निर्वाचनमा सफलता हासिल गर्न आवश्यक रणनीति निर्माण र चुनावी अभियान व्यवस्थापनको प्रक्रियामा केन्द्रित छ। राजनीतिशास्त्र र सैनिक विज्ञानका सिद्धान्त तथा अभ्यासमा आधारित पुस्तकमा निर्वाचन रणनीति निर्माणका नौ प्रमुख चरण र तिनका सहायक प्रक्रियाहरू प्रस्तुत गरिएका छन्। निर्वाचनको तयारीदेखि अभियान सञ्चालन, अवस्थाको निरन्तर निगरानी र बदलिँदो राजनीतिक परिस्थितिअनुसार रणनीति परिमार्जन गर्नेसम्मका विषय पुस्तकमा समेटिएका छन्। यसले राजनीतिक दल, उम्मेदवार तथा निर्वाचन अभियानकर्तालाई योजनाबद्ध रूपमा चुनावी रणनीति तयार गर्न आवश्यक अवधारणा र प्रक्रियाबारे जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

थापाको अर्को पुस्तक Changing Dynamism of Sino-Indian Geopolitical Rivalry in Nepal नेपालमा चीन र भारतबीच विकसित हुँदै गएको भूराजनीतिक प्रतिस्पर्धाको बदलिँदो स्वरूपमा केन्द्रित छ। पुस्तकले कनेक्टिभिटी, सुरक्षा, संस्कृति तथा ऊर्जा र जलस्रोत गरी चार प्रमुख आयामबाट दुई छिमेकी मुलुकका रणनीतिक चासो र नेपालको भूराजनीतिक अवस्थाको विश्लेषण गरेको छ। यसमा नेपालको भौगोलिक अवस्थिति, पूर्वाधार तथा सम्पर्क सञ्जाल, जलस्रोतको महत्त्व र सांस्कृतिक प्रभावजस्ता विषय समेटिएका छन्। साथै, चीन र भारतबीचको प्रतिस्पर्धाका बीच नेपालको रणनीतिक भूमिका र राष्ट्रिय हितसँग सम्बन्धित विषयमा पनि चर्चा गरिएको छ।

नेपाली सेनामा २२ वर्ष सेवा गरी स्वैच्छिक अवकाश लिएका थापा सैनिक सेवापछि प्राज्ञिक अध्ययन र अनुसन्धानमा सक्रिय भएका हुन्। उनले राजनीतिशास्त्रमा दर्शनाचार्य (मास्टर इन फिलोसोफी) अध्ययनका क्रममा सर्वोत्कृष्ट विद्यार्थीका रूपमा सफलता हासिल गरेका थिए। सैनिक सेवाबाट प्राप्त अनुभव र राजनीतिशास्त्रको अध्ययनलाई लेखनसँग जोड्दै उनले निर्वाचन रणनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धजस्ता फरक विषयमा पुस्तक तयार गरेका हुन्।

पुस्तक विमोचन कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री एवं पूर्वरथी बालानन्द शर्मा र प्राज्ञिक व्यक्तित्व डा. रवीन्द्र खनाल प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो। पुस्तकसम्बन्धी टिप्पणीकारको रुपमा क्रममा पूर्वउपरथी पूर्ण सिलवाल, द्वन्द्व, शान्ति तथा विकास केन्द्रका प्रमुख डा. पिताम्बर भण्डारी, अवकाशप्राप्त सहायक रथी रामचन्द्र खत्री हुनुहुन्थ्यो ।

कार्यक्रममा लेखक थापाले पुस्तक लेखन तथा प्रकाशनका क्रममा सहयोग, सुझाव र मार्गदर्शन प्रदान गर्ने प्राज्ञिक व्यक्तित्व तथा शुभेच्छुकप्रति आभार व्यक्त गरे।

निर्वाचन रणनीति र नेपालमा चीन–भारतको भूराजनीतिक प्रतिस्पर्धाजस्ता समसामयिक विषय समेटिएका यी दुई पुस्तक राजनीतिशास्त्रका विद्यार्थी, अनुसन्धानकर्ता, राजनीतिकर्मी तथा परराष्ट्र नीति र राष्ट्रिय सुरक्षामा रुचि राख्ने पाठकका लागि सन्दर्भ सामग्रीका रूपमा उपयोगी हुने अपेक्षा गरिएको छ। एउटा पुस्तकले निर्वाचन रणनीति निर्माण र अभियान व्यवस्थापनको प्रक्रियालाई प्रस्तुत गर्छ भने अर्कोले नेपालको क्षेत्रीय रणनीतिक अवस्थिति र दुई छिमेकीबीचको प्रतिस्पर्धालाई विभिन्न आयामबाट विश्लेषण गर्छ।

Article image
Article image
साझा गर्नुहोस्:

सम्बन्धित समाचार