भोटेकोशीमा आएको विनाशकारी बाढीको करिब डेढ महिनापछि नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीस्थित फलाकु खोलामा बेलिब्रिज (एक्रो ब्रिज) निर्माण गरिएको छ। नेपाली सेनाले निर्माण गरेको पुल आइतबार गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको हो।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले सडक तथा पुलमा क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा यातायात सञ्चालन सहज बनाउन नेपाली सेनाले पुनर्निर्माणको काम अघि बढाएको थियो। नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा करिब ३०० मिटर सडक खण्डमा चट्टान फुटाएर पहुँचमार्ग निर्माण गरेपछि बेलिब्रिज जडान गरिएको हो।
निर्माण गरिएको एक्रो ब्रिज २४० फिट लामो र १८ फिट चौडा छ। ४० टन भारवहन क्षमता रहेको उक्त पुल सञ्चालनमा आएसँगै नुवाकोट र रसुवाका स्थानीय बासिन्दालाई आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ।
पुल सञ्चालनमा आएपछि बाढीबाट प्रभावित क्षेत्रमा राहत सामग्री तथा अन्य अत्यावश्यक वस्तुको ढुवानीमा समेत सहजता हुने जनाइएको छ। बाढीबाट क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माणको क्रममा बनेको यस संरचनाले दुई जिल्लाबीचको आवागमन पुनःस्थापित गर्न सहयोग पुग्नेछ।






