मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

मौसम विभाग पुगे गृह र ऊर्जामन्त्री, मौसमविदले के भने ?

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २२
4
0
मौसम विभाग पुगे गृह र ऊर्जामन्त्री, मौसमविदले के भने ?
सारांश
गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले असोज ९ गतेदेखि हुने भनिएको वर्षा तथा हिमपातको अवस्थाबारे मौसम पूर्वानुमा...


गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले असोज ९ गतेदेखि हुने भनिएको वर्षा तथा हिमपातको अवस्थाबारे मौसम पूर्वानुमान महाशाखासँग जानकारी लिएका छन्।

बबरमहलस्थित मौसम विज्ञान विभागको कार्यालय पुगेर उनीहरूले महानिर्देशक अर्चना श्रेष्ठ, प्रवक्ता विभूति पोखरेललगायत मौसमविद्सँग सम्भावित जोखिम र आवश्यक पूर्वतयारीबारे छलफल गरेका हुन्।

विभागका मौसमविद्का अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा र उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना छ। यो प्रणालीको प्रभाव नेपालभर फैलिन सक्ने बताइएको छ।

विभागकी प्रवक्ता पोखरेलका अनुसार लुम्बिनी र गण्डकी प्रदेशमा वर्षाको मात्रा बढी हुने सम्भावना छ। भारी वर्षाका कारण डुबान, कटान र पहिरोको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन तथा हिमाली क्षेत्रमा यात्रा नगर्न आग्रह गरिएको छ।

असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने तथा एक–दुई स्थानमा अति भारी वर्षासमेत हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यस्तै, मधेश, कोशी, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

मौसम विभागले उत्तर अण्डमान सागर तथा आसपासबाट विकसित न्यूनचापीय प्रणाली बंगालको खाडीको मध्य भागमा पुगेर थप शक्तिशाली बनेको जनाएको छ। उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने क्रममा बुधबारदेखि कोशी, मधेश, बागमती र गण्डकीमा वर्षाको गतिविधि बढ्ने अनुमान गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि उच्च सतर्कता अपनाउन आग्रह गर्दै अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्न अनुरोध गरेको छ।

प्राधिकरणले संघीय मन्त्रालय, प्रदेश तथा स्थानीय तह, सुरक्षा निकाय र स्वयंसेवकलाई आवश्यक सूचना प्रवाह तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन र जोखिमयुक्त सडक तथा राजमार्गमा डोजर, एक्साभेटर र लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न आग्रह गरेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार