११ साउन, काठमाडौं । अमेरिकाको मिसिगन राज्यस्थित ट्रिवर्स सिटीमा रहेको वालमार्ट स्टोरमा शनिबार साँझ भएको चक्कु आक्रमणमा कम्तीमा ११ जना घाइते भएका छन्।
द न्यूयोर्क टाइम्सका अनुसार घाइतेहरूलाई नजिकैको मुनसन मेडिकल सेन्टरमा उपचार गरिँदैछ। स्थानीय समय अनुसार साँझ ६ बजे एक व्यक्तिले अचानक भीडभाड भएको स्टोरमा अन्धाधुन्ध चक्कु प्रहार गरेका थिए।
घटनापछि सुरक्षाकर्मीले ती आक्रमणकारीलाई तुरुन्तै नियन्त्रणमा लिएका छन्। आक्रमणको कारण हालसम्म स्पष्ट नभएको र घटनाको गम्भीर अनुसन्धान भइरहेको मिसिगन राज्य प्रहरीले जनाएको छ।
वालमार्टले विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गर्दै सुरक्षानिकायसँग पूर्ण सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
सुरक्षाको दृष्टिले प्रहरीले ट्रिवर्स सिटी क्षेत्रमा सुरक्षा सतर्कता कडा बनाएको छ र स्थानीय बासिन्दालाई अत्यधिक भिडभाड भएका स्थानमा नजान आग्रह गरेको छ।





