मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी ब्लास्ट गरेर खोल्ने तयारी

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २८
4
0
मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी ब्लास्ट गरेर खोल्ने तयारी
सारांश
काठमाडौं । मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदीलाई विस्फोट गरेर खोल्ने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृ...

काठमाडौं । मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदीलाई विस्फोट गरेर खोल्ने तयारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार जिल्ला दैवी प्रकोप उद्धार समितिले नदी खोल्न ब्लास्ट गर्ने निर्णय गरेको हो ।

यसका लागि नेपाली सेनाको विस्फोटक पदार्थसम्बन्धी प्राविधिक टोलीलाई अनुरोध गर्ने निर्णय भएको छ । काठमाडौंस्थित सेनाको टोली चामे पुगेर थुनिएको नदीलाई विस्फोट गरी आजै खोल्ने तयारी गरिएको पौडेलले बताएका छन् ।

विस्फोटका लागि आवश्यक पदार्थ मनाङकै स्थानीय तहसँग रहेको प्रशासनले जनाएको छ ।

आइतबार ठाडो खोला र घट्टे खोलामा आएको बाढीले कटान गर्नुका साथै घर, पुल र सडकमा क्षति पुर्‍याएको थियो । त्यसै दिन साँझ घट्टे खोलामा पहिरो खसेर आएको लेदो र हिलोले मर्स्याङ्दी नदी थुनिएको थियो ।

नदी थुनिएपछि जोखिम बढेको भन्दै स्थानीयवासीले जंगल, सामुदायिक भवन र ब्यारेकमा रात बिताएका थिए । मौसम खुलेपछि भने चामेवासी सोमबार बिहान घर फर्किएका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार