काठमाडौं | भारत सरकारले संघीय बजेट २०८३/८४ मार्फत देशभर सातवटा उच्च–गतिको रेल (बुलेट ट्रेन) करिडोर विकास गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ।
हाल भारत मुम्बईदेखि अहमदावादसम्म ५०८ किलोमिटर लामो बुलेट रेल–वे निर्माण गर्दैछ। नयाँ बजेट अनुसार थप सात करिडोर बनाइनेछन्, जसमा मुम्बई–पुणे, पुणे–हैदराबाद, हैदराबाद–बेंगलुरु, हैदराबाद–चेन्नई, चेन्नई–बेंगलुरु, दिल्ली–वाराणसी र वाराणसी–सिलिगुडी रहेका छन्।
रेल मन्त्री अश्विनी वैष्णवका अनुसार करिडोर सञ्चालनमा आएपछि प्रमुख शहरबीचको यात्रा समय उल्लेखनीय रूपमा घट्नेछ। उदाहरणका लागि, मुम्बई–पुणे ४८ मिनेटमा, पुणे–हैदराबाद १ घण्टा ५५ मिनेटमा, हैदराबाद–बेंगलुरु २ घण्टामा र दिल्ली–वाराणसी ३ घण्टा ५० मिनेटमा पुगिनेछ।
यीमध्ये दिल्ली–वाराणसी–सिलिगुडी करिडोर नेपालका लागि पनि अर्थपूर्ण छ, किनभने सिलिगुडी नेपालको पूर्वी सिमाना, काँकडभिट्टा नजिक पर्दछ। यस मार्गमा ‘चिकन्स नेक’ भनिने २२ किलोमिटर मात्र फराकिलो भूभाग पर्दछ, जसले भारतका आठ उत्तरपूर्वी राज्यहरूलाई जोड्ने एकमात्र स्थलमार्गको रूपमा रणनीतिक महत्व राख्छ।
भारतले यो क्षेत्रमा ४० किलोमिटर लामो भूमिगत टनेलमार्फत बुलेट ट्रेन गुडाउने योजना बनाएको छ। यसले ब्रिटिशकालीन रेलमार्गलाई स्तरोन्नति गर्दै नयाँ उच्च–गति रेल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
रेल मन्त्री वैष्णवले भनेका छन्, “दिल्ली–वाराणसी–सिलिगुडी करिडोरले उत्तर भारतमा नयाँ आर्थिक करिडोर निर्माण गर्नेछ, जबकि चेन्नई–बेंगलुरु–हैदराबाद करिडोर दक्षिण भारतको आर्थिक गतिविधि तीव्र बनाउनेछ। यसले क्षेत्रीय विकास, रोजगारी सिर्जना र लगानी प्रवाहमा महत्वपूर्ण योगदान पुर्याउनेछ।”
सरकारको योजना अनुसार यी उच्च–गति रेल परियोजनाले केवल यात्रा सहज बनाउने मात्र होइन, स्वास्थ्य, शिक्षा र अन्य आर्थिक गतिविधिमा समेत वृद्धि ल्याउने विश्वास व्यक्त गरिएको छ।





