काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुने वडा अधिवेशनको मिति एक साता पर सार्ने तयारी गरिएको छ। आज बस्ने कार्यसम्पादन समितिको बैठकमा तल्लो तहका अधिवेशनको कार्यतालिका परिवर्तनबारे छलफल हुने भएको छ।
सभापति गगन थापाले दिउँसो १ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। केन्द्रीय महाधिवेशन भने पूर्वनिर्धारित मिति १६ देखि १९ असोजमै गर्ने गरी तल्लो तहका अधिवेशनको कार्यतालिका मिलाउन लागिएको हो।
कांग्रेसका अनुसार वडा अधिवेशन सार्नुका मुख्य कारणमा रसुवाको भोटेकोशी बाढी, विभिन्न स्थानमा अवरुद्ध सडक, पार्टीभित्र भइरहेको आन्तरिक छलफल र हरितालिका तीज रहेका छन्।
१० भदौमा रसुवामा आएको विनाशकारी बाढीपछि कांग्रेसले पार्टी पंक्तिलाई उद्धार तथा राहतमा परिचालन गर्ने निर्णय गरेको थियो। बाढी तथा वर्षाका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएकाले अधिवेशनका लागि आवतजावतमा समेत समस्या देखिएको नेताहरूको भनाइ छ।
त्यस्तै, महाधिवेशनमा सहमति जुटाउने प्रयासस्वरूप संस्थापन पक्षले पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालालगायतसँग छलफल गरिरहेको जनाएको छ।
पूर्वनिर्धारित कार्यतालिकाअनुसार २७ भदौमा गाउँ/नगर अधिवेशन र ३१ भदौमा प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्ने कार्यक्रम थियो। यस वर्ष हरितालिका तीज २९ भदौमा परेकाले पनि अधिवेशनको कार्यतालिका प्रभावित भएको कांग्रेस नेताहरूले बताएका छन्।
कांग्रेसभित्र महाधिवेशनको मितिलाई लिएर अर्को पक्षले मंसिरमा महाधिवेशन गर्नुपर्ने धारणा राख्दै आएको छ भने यससम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ। संस्थापन पक्ष भने १६ देखि १९ असोजसम्म नै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने तयारीमा रहेको छ।





