काठमाडौं, ६ फागुन - नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयार पारेको प्रतिज्ञापत्र सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
बुधबार बिहान ११ बजे बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले उक्त प्रतिज्ञापत्र पारित गरेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्। बैठक सभापति गगन थापा को नेतृत्वमा सम्पन्न भएको थियो।
कांग्रेसले यसपटक ‘भिजन १०’ को अवधारणासहित घोषणापत्र ल्याउने तयारी गरेको यसअघि नै संकेत गरिसकेको थियो। सोही अवधारणामा आधारित प्रतिज्ञापत्रलाई बैठकबाट औपचारिक स्वीकृति दिइएको हो।
पारित प्रतिज्ञापत्र आजै मधेश प्रदेशको राजधानी जनकपुरस्थित तिरहुतियामा आयोजना हुने पहिलो चुनावी सभामार्फत सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ। दिउँसो २ बजे सुरु हुने उक्त सभामा सभापति थापाले प्रतिज्ञापत्र सार्वजनिक गर्ने जनाइएको छ।
निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले आफ्ना प्राथमिकता, नीतिगत प्रतिबद्धता र विकासका योजनाहरू समेटिएको दस्तावेज सार्वजनिक गर्न लागेको हो।





