नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पदाधिकारीसहित विभिन्न पदका उम्मेदवारविरुद्ध दाबी विरोध सुरु भएको छ। निर्वाचन समितिले बिहान सार्वजनिक गरेको प्रारम्भिक उम्मेदवार नामावलीमाथि दाबी विरोध प्रक्रिया अघि बढाइएको हो।
महाधिवेशनबाट सभापति १, वरिष्ठ उपसभापति १, उपसभापति ४, महामन्त्री ३, सहमहामन्त्री १५ र कोषाध्यक्ष १ गरी २४ पदाधिकारी रहने व्यवस्था छ। त्यसमध्ये सहमहामन्त्री ४ जना र कोषाध्यक्ष १ जना सभापतिले मनोनीत गर्ने भएकाले १९ पदमा निर्वाचन हुनेछ।
निर्वाचन समितिका अनुसार १९ पदका लागि ७९ जनाको उम्मेदवारी परेको छ। सभापति पदमा गगन थापा, पूर्व सहमहामन्त्री किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका छन्।
वरिष्ठ उपसभापतिमा वर्तमान उपसभापति विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको छ। महिला उपसभापति पदमा वर्तमान उपसभापति पुष्पा भुसालको पनि एकल उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।
उम्मेदवारविरुद्ध दाबी विरोधका लागि मध्याह्न १२ बजेसम्मको समय तोकिएको छ।






