काठमाडौं। जेनजी अभियन्ता रक्षा बमले जनताले आफ्नो सरकारलाई जिम्मेवार बनाउन र जवाफदेहिता माग्न उभिने प्रमुख ठाउँ सडक भएको बताएकी छन्।
जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश दिँदै बमले आफ्ना प्रश्नको जवाफ माग्दा नागरिकले पटक–पटक जीवन गुमाउनुपरेको बताएकी हुन्।
उनले नागरिकले प्रश्न उठाएकै कारण ज्यान गुमाउनुपर्ने अवस्था सरकार साँच्चिकै जिम्मेवार र जवाफदेही नहुँदासम्म अन्त्य नहुने बताएकी छन्।
बमले लोकतान्त्रिक व्यवस्थामा नागरिकलाई प्रश्न गर्ने अधिकार रहेको उल्लेख गर्दै राज्य संयन्त्र नागरिकको आवाजप्रति संवेदनशील हुनुपर्नेमा जोड दिएकी छन्।
उनले जेनजी आन्दोलनपछि बनेको सरकार तथा आगामी सरकारहरूलाई नागरिकको जीवन रक्षाप्रति जिम्मेवार बन्न आग्रह गरेकी छन्। साथै, जनताको आवाज सुन्न र नागरिकको जीवनलाई प्राथमिकतामा राख्न सरकारसँग अपिल गरेकी छन्।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई स्मरण गर्दै बमले सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।
उनको सन्देशमा भनिएको छ, “कुनै पनि सत्ता जनताको जीवनभन्दा मूल्यवान् हुन सक्दैन।”





