१२ साउन, काठमाडौं — इंग्ल्याण्डले महिला युरोकप फुटबल २०२५ को उपाधि आफ्नो नाममा लेखाएको छ। गएराति सम्पन्न भएको रोमाञ्चक फाइनलमा इंग्ल्याण्डले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै पहिलोपटक विदेशी भूमिमा ठुलो उपाधि जित्न सफल भयो।
खेलको निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि उपाधिको टुंगो पेनाल्टी सुटआउटबाट लागिएको हो। टाइब्रेकरमा इंग्ल्याण्डकी गोलरक्षक हाना हाम्पटन निर्णायक बनिन्। उनले स्पेनका दुई प्रहार रोक्दै इंग्ल्याण्डलाई ऐतिहासिक जित दिलाइन्।
स्पेनका लागि खेलको २५औं मिनेटमा मारिओना काल्देन्तेले गोल गर्दै अग्रता दिलाएकी थिइन्। तर, दोस्रो हाफको ५७औं मिनेटमा इंग्ल्याण्डकी अलेसिया रुसोले बराबरी गोल गर्दै खेललाई पुनः प्रतिस्पर्धामा ल्याइन्।
उत्साहजनक खेल प्रदर्शनसहित इंग्ल्याण्डले युरोपेली च्याम्पियनको रूपमा आफ्नो नाम चम्काएको छ। यस उपाधिसँगै इंग्ल्याण्डले महिला फुटबलमा नयाँ इतिहास रचेको हो।





