मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

ग्यास अभावबारे विवादास्पद अभिव्यक्ति दिएकी उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर १०
4
0
ग्यास अभावबारे विवादास्पद अभिव्यक्ति दिएकी उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
सारांश
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक क...


उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिएका छन्।

मन्त्री यादवले बुधबार संसदीय समितिको बैठकमा ग्यास उद्योगीहरूमाथि विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। उनले ग्यास अभाव उद्योगीहरूकै कारण भएको दाबी गर्दै उद्योगीलाई कारबाही गर्नुपर्ने धारणा राखेकी थिइन्।

यादवले हाल सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने र देशमा दुईवटा ग्यास उद्योग भए पुग्ने बताएकी थिइन्। उनको अभिव्यक्तिप्रति ग्यास उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए।

काठमाडौं उपत्यकामा लामो समयदेखि खाना पकाउने ग्यासको अभाव देखिएको छ। उपभोक्ताहरू सिलिन्डरका लागि घण्टौं लाइनमा बस्नुपर्ने अवस्था रहेको र कतिपयले तोकिएको मूल्यभन्दा बढी रकम तिर्नुपरेको गुनासो गर्दै आएका छन्।

यसैबीच, कृष्णभिरमा सडक भासिएपछि ग्यास ढुवानीमा समेत समस्या थपिएको बताइएको छ। वैकल्पिक मार्गबाट ग्यास आपूर्ति भइरहे पनि बजारमा सहज रूपमा वितरण हुन नसक्दा अभाव झन् जटिल बनेको छ।

संसदीय समितिमा मन्त्री यादवले मन्त्रालयभित्रै कर्मचारीको असहयोग रहेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरेकी थिइन्। उनको अभिव्यक्तिपछि सरकार र ग्यास उद्योगीबीच विवाद बढेको अवस्थामा उनले राजीनामा दिएकी हुन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार