मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

गणेश चतुर्थीमा गणेश मन्दिरमा भक्तजनको भीड, राजधानीदेखि देशभर पूजा आराधना

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर १५
3
0
गणेश चतुर्थीमा गणेश मन्दिरमा भक्तजनको भीड, राजधानीदेखि देशभर पूजा आराधना
सारांश
अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् श्री गणेशको पूजा आराधना गर्न आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भक्तजनको लाम लाग...


अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् श्री गणेशको पूजा आराधना गर्न आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भक्तजनको लाम लागेको छ।

शास्त्रीय मान्यताअनुसार सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको विश्वास गरिन्छ। यस अवसरमा अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक र कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरिँदैछ।

शिव–पार्वतीका पुत्र गणेशलाई धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त भएको मानिन्छ। धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार हरितालिकाको व्रत पारायणपछि गणेश चतुर्थीमा गणेशको पूजा गर्ने शास्त्रीय विधान रहेको छ।

गणेश पुराणअनुसार भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुख–शान्तिको कामना गर्ने व्रतालुले चतुर्थीका दिन जीवनमा कुनै विघ्न नआओस् भन्ने कामनासहित गणेशको पूजा गर्ने परम्परा छ।

मंगलबार परेको गणेश चतुर्थीलाई ‘मंगल चतुर्थी’ समेत भनिन्छ। नेवार समुदायले यस दिनलाई ‘चथा पर्व’का रूपमा मनाउने गर्छ। चथा पर्वमा बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने परम्परा रहेको छ।

यस अवसरमा राष्ट्रिय धर्मसभा नेपालले २०६५ सालदेखि विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। आज विभिन्न गणेश मन्दिरमा पूजा आराधनासँगै प्रवचन कार्यक्रमसमेत आयोजना गरिएको धर्मसभाका अध्यक्ष प्रा. डा. माधव भट्टराईले जानकारी दिएका छन्।

राष्ट्रिय धर्मसभाले २०६५ सालदेखि गणेश रथयात्रा पनि गर्दै आएको छ। सामान्यतः भाद्र शुक्ल पञ्चमीका दिन गरिने रथयात्रा यस वर्ष पञ्चमी पनि आजै परेको जनाइएकाले आजै आयोजना गरिँदैछ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार