१४ फागुन, काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले कर्णालीवासीसँग पाँच वर्षको अवधि फेरि नयाँ प्रयोग नगर्न आग्रह गरेका छन्। बिहीबार सुर्खेतमा आयोजित चुनावी सभामा सभापति थापाले आफूसँगै कर्णालीको विकास सम्भावना रहेको दाबी गर्दै, स्थायी परिवर्तनका लागि समय दिनुपर्ने बताए।
सभापति थापाले भने, “मेरो आग्रह छ, पाँच वर्ष नयाँ प्रयोग नगरौँ। पाँच वर्ष परिवर्तनको वर्ष बनाउने हो। तर यसका लागि सोचविचार आवश्यक छ।” उनले कर्णालीबारे धेरै कुरा गर्न सकिने भए पनि यथार्थलाई नजरअन्दाज गर्न नहुने उल्लेख गरे।
थापाले कर्णालीको प्राकृतिक र सांस्कृतिक सम्पदाको प्रशंसा गर्दै भने, “कर्णाली स्वर्ग जस्तो छ, अन्नको भण्डार हो, र देशकै उत्कृष्ट क्षेत्र हो। यहाँको रारा, स्याउ, यार्सागुम्बा सबैका कथा रोचक छन्। तर यी सबैको पछाडि यहाँको गहिरो गरिबी पनि छ।”
उनले देशभरी १७–१८ प्रतिशत गरिबी रहेको अवस्थामा कर्णालीमा करिब ४० प्रतिशत मानिस गरिबीको सिकार हुनु चिन्ता जनाए। “सबैभन्दा ठूलो बेरोजगारी र मातृ स्वास्थ्यको समस्या कर्णालीमा किन यति गम्भीर छ? यी प्रश्नको स्पष्ट उत्तर दिनुपर्छ, तर मात्र उत्तरले समाधान हुँदैन, समस्याको जरा पहिचान गर्नुपर्छ,” सभापति थापाले जोड दिए।
थापाले कर्णालीको विकास महँगो र चुनौतीपूर्ण रहेको बताए। “कर्णाली र काठमाडौंको विकासको ढाँचा एउटै हुन सक्दैन। यहाँको वार्षिक आय जम्मा ५२ करोड छ, जबकि काठमाडौं महानगरका मेयरका लागि विकासका लागि ठूलो रकम सहजै उपलब्ध हुन्छ। यसको मुख्य कारण घरभाडा करमा आधारित स्थानीय तहको आम्दानी हो, जहाँ देशभरका मानिसहरू काठमाडौंको घरभाडा भुक्तानी गर्छन्।”





