मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

एयर इन्डिया विमान दुर्घटनाः पाइलटबीचको अन्तिम संवादबाट इन्धन आपूर्ति बन्द भएको खुलासा, अनुसन्धान अझै जारी

स
समाचार कक्ष
२०२५ जुलाई १७
3
0
एयर इन्डिया विमान दुर्घटनाः पाइलटबीचको अन्तिम संवादबाट इन्धन आपूर्ति बन्द भएको खुलासा, अनुसन्धान अझै जारी
सारांश
नयाँ दिल्ली – गत जुन १२ मा भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको बोइङ–७८७ विमानसम्बन्धी अनुसन्धानमा एक नयाँ तथ्य बाहिर आएको छ। अमेरिकी प...

नयाँ दिल्ली – गत जुन १२ मा भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको बोइङ–७८७ विमानसम्बन्धी अनुसन्धानमा एक नयाँ तथ्य बाहिर आएको छ। अमेरिकी पत्रिका वाल स्ट्रीट जर्नल ले ककपिट भ्वाइस रेकर्डर (CVR) मार्फत दुई पाइलटबीचको संवादमा इन्धन आपूर्ति ‘कट अफ’ गरिएको पुष्टि भएको दाबी गरेको छ।

रोयटर्स द्वारा उद्धृत समाचारमा भनिएको छ कि वरिष्ठ पाइलट सुमित सभरवालले फ्यूल स्विच ‘कट अफ’ अवस्थामा राखेको सह–पाइलट क्लाइभ कुन्दरको आश्चर्यचकित प्रश्नबाट खुलासा भएको हो। “तपाईंले फ्यूल स्वीचलाई ‘कट अफ’ किन गर्नुभयो?” भनेर सोध्दा कुन्दरको आवाजमा स्पष्ट त्रास सुनिएको बताइएको छ। तर पाइलट सभरवाल शान्त थिए। सभरवालसँग १५,६३८ घण्टाको उडान अनुभव थियो भने कुन्दरको अनुभव ३,४०३ घण्टा थियो।

भारतको विमान दुर्घटना अनुसन्धान ब्युरो (AAIB) ले यसअघि जारी गरेको प्रारम्भिक प्रतिवेदनमा फ्यूल स्विच ‘रन’ बाट अचानक ‘कट अफ’ मा गएको उल्लेख गरे पनि त्यो कसले वा किन गरे भन्ने विषयमा कुनै स्पष्टता नआएको थियो। अहिले भने ककपिट संवादबाट थप प्रश्न उठेका छन्।

एयर इन्डियाको प्राविधिक प्रतिक्रिया
एयर इन्डियाले भने बोइङ–७८७ सिरिजका सबै विमानको इन्धन नियन्त्रण स्विचमा कुनै त्रुटि नभएको दाबी गरेको छ। कम्पनीले पाइलटहरूलाई पठाएको आन्तरिक सन्देशमा थ्रोटल कन्ट्रोल मोड्युल (TCM) जाँच गरिएको र कुनै गडबडी फेला नपरेको उल्लेख छ। TCM इन्धन स्विच प्रणालीको एक प्रमुख हिस्सा हो।

अन्य सावधानी र नियामक कदम
जुलाई १४ मा भारतको नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले सबै एयरलाइन्सलाई २१ जुलाईभित्र सबै बोइङ–७८७ र ७३७ विमानको फ्यूल स्विच प्रणाली अनिवार्य रूपमा परीक्षण गर्न निर्देशन दिएको छ।

एयर इन्डियासँग हाल ३३ वटा बोइङ–७८७ ड्रीमलाइनर विमान छन्। इन्डिगोसँग सातवटा बी–७३७ म्याक्स ८ र एक बी–७८७–९ विमान छन्, तर ती सबै भाडामा लिइएका र भारतबाहिर दर्ता गरिएका छन्।

अधिकारीहरूको प्रतिक्रिया अझै नआएको
वाल स्ट्रीट जर्नलले प्रारम्भिक अनुसन्धानमा संलग्न अमेरिकी अधिकारीहरूसँगको स्रोतलाई उद्धृत गरेको भए पनि भारतको AAIB, DGCA, नागरिक उड्डयन मन्त्रालय, बोइङ वा एयर इन्डियाले यसबारे आधिकारिक प्रतिक्रिया दिएका छैनन्।

यस प्रकरणले विमान उडान सुरक्षामा मानवीय गल्ती, प्राविधिक त्रुटि वा संयोजन दुबैको आशंका पैदा गराएको छ। अनुसन्धान जारी छ र थप विस्तृत रिपोर्ट प्रतीक्षित छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार