नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले काभ्रेपलाञ्चोकको पनौतीस्थित बल्थली रिसोर्टमा शनिबारदेखि आवासीय रूपमा छलफल अघि बढाएको छ।
कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ले शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा दुईवटा छुट्टाछुट्टै दस्तावेज प्रस्तुत गरेका थिए। एउटा ‘महासचिवको तर्फबाट’ र अर्को ‘मेरो तर्फबाट’ भन्दै प्रस्तुत गरिएको थियो।
छलफलका क्रममा छुट्टाछुट्टै प्रतिवेदन तयार गर्नु उपयुक्त नहुने धारणा आएपछि दुवै दस्तावेजका विषय समेटेर एउटै प्रतिवेदन तयार गर्ने सहमति भएको प्रचार विभाग प्रमुख निरज आचार्यले बताएका छन्।
शुक्रबार प्रस्तुत दस्तावेजको अध्ययनपछि कार्यदलले शनिबारदेखि आवासीय रूपमा थप छलफल थालेको हो। छलफलपछि तयार हुने एउटै प्रतिवेदन पार्टी सचिवालयमा पेस गरिनेछ।
एमाले सचिवालयको जेठ १० गते बसेको आठौँ बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनबारे सुझाव दिन कार्यदल गठन गरेको थियो। कार्यदललाई एक महिनाभित्र सुझाव पेस गर्ने जिम्मेवारी दिइए पनि गठन भएको करिब चार महिना पुग्न लाग्दा पनि प्रतिवेदन अन्तिम रूप लिन सकेको छैन।
कार्यदलले यसअघि १३ वटा समूहसँग छुट्टाछुट्टै छलफल गरी सुझाव संकलन गरेको थियो।





