मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

डा. शेखर कोइरालाद्वारा एकैदिन ६ वटा पार्टी कार्यालय उद्घाटन, बुढीगंगामा चुनावी अभियान तीव्र

स
समाचार कक्ष
२०२६ फेब्रुअरी ११
8
0
डा. शेखर कोइरालाद्वारा एकैदिन ६ वटा पार्टी कार्यालय उद्घाटन, बुढीगंगामा चुनावी अभियान तीव्र
सारांश
विराटनगर - मोरङ क्षेत्र नम्बर ६ का नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले चुनावी अभियानलाई तीव्र बनाउँदै बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा एकै...

विराटनगर - मोरङ क्षेत्र नम्बर ६ का नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले चुनावी अभियानलाई तीव्र बनाउँदै बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा एकैदिन पार्टी कार्यालय उद्घाटन गरेका छन्।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै डा. कोइरालाले वडा नम्बर १, २, ३, ४, ६ र ७ मा पार्टी कार्यालय उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले पछिल्ला वर्षहरूमा बुढीगंगामा उल्लेखनीय विकास निर्माणका कार्य सम्पन्न भएको दाबी गरे।

उनले खानेपानी, सडक सञ्जाल, स्वास्थ्य संस्था लगायतका पूर्वाधार क्षेत्रमा महत्वपूर्ण प्रगति भएको उल्लेख गर्दै बुढीगंगाको स्वरूपमा परिवर्तन आएको बताए। “अघिल्ला वर्षहरूको तुलनामा अहिले बुढीगंगाको मुहार फेरिएको छ,” उनले भने, “यहाँ विकास भएको छैन भन्ने कुरा म स्वीकार गर्दिनँ।”

निर्वाचन मिति नजिकिँदै जाँदा नेपाली कांग्रेसका उम्मेदवारहरू मतदातामाझ पुग्ने अभियानलाई व्यापक बनाइरहेका छन्। समानुपातिक उम्मेदवार रुक्मिणी कोइरालाले संविधान र राष्ट्रको संरक्षणका लागि कांग्रेसलाई विजयी गराउन बुढीगंगावासीसँग आग्रह गरिन्।

त्यस्तै, समानुपातिक सांसद उम्मेदवार प्रमिला गच्छदारले जनआन्दोलनपछिको अवस्थामा देशलाई अस्थिर बनाउने प्रवृत्तिलाई पहिचान गर्नुपर्ने आवश्यकता औंल्याइन्। मुलुक निर्माणको जिम्मेवारी कांग्रेसकै काँधमा रहेको उल्लेख गर्दै उनले पार्टीलाई समर्थन गर्न आह्वान गरिन्।

डा. कोइरालाले चुनावी सभालाई सम्बोधन गर्नुका साथै विभिन्न पेशा–व्यवसायमा आबद्ध नागरिकहरूसँग भेटघाट गर्दै मत मागिरहेका छन्। कांग्रेस विजयी भए मात्र लोकतन्त्र, संविधान, संसदको सर्वोच्चता तथा धार्मिक–सांस्कृतिक पहिचान सुरक्षित रहने उनको भनाइ छ।

नेपाली कांग्रेस बुढीगंगा गाउँपालिकाका उपसभापति किरण चौधरीका अनुसार डा. कोइरालाले चुनावी कार्यक्रमलाई थप प्रभावकारी बनाउन अभियानलाई व्यापक बनाइरहेका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार